उपेन्द्रबाट उपमा बनिन्, तर नागरिकताको नामले दिइरहन्छ दुःख
उमेरले भर्खरै २३ टेक्दै गरेका उपेन्द्रलाई आफ्नै नामले पटकपटक झस्काइरहन्छ। अनौठो लाग्छ आफ्नै परिचय।नाम सम्झिँदा आफ्नै पहिचान भुलेजस्तै पीडा हुन्छ उनलाई। त्यसैले नाम सुनेर समाजलाई अचम्मित पार्नु र आफ्नै भावनालाई मार्नुभन्दा आफ्नो नाम परिवर्तन गरिदिए।
आफूमाथिका ६ जना दाइहरूपछि जन्मिएका उपेन्द्र सातौं छोराका रूपमा जन्मिए। उनीपछि एउटी बहिनी जन्मिइन्। उपेन्द्र नाम आमाबुवाले राखिदिएका थिए। छोराका रूपमा जन्मिए पनि स्वभाव भने सानैदेखि फरक थियो उनको। सानै देखि आमाको पुरानो फरिया लगाएर नाच्थे। टीका, चुरा र धागो भेट्नै हुँदैनथ्यो। भाँडाकुटी खेल्दा बच्चा बोक्न रुचाउँथे। आमा बनेर भात पकाएर खेल्थे। समय बित्दै गयो। ४ वर्ष लागेपछि घरनजिकैको ज्योति माध्यमिक विद्यालयमा भर्ना भए। सानो छँदा केटा साथीहरूगँगै बसेर पढे। जब उमेर र कक्षा दुवै बढ्दै गयो, तब उनलाई बिस्तारै असहज हुन थाल्यो।
कक्षा ६ मा पुगेपछि उनलाई केटाहरूसँग बसेर पढ्न अप्ठेरो लाग्यो। केटी साथीहरूको बेन्चमा बसेर पढ्न थाले। ‘अप्ठेरो महसुस त ती केटी साथीहरुले पनि गर्थे। तर, मलाई त्यो कुराले कुनै प्रभाव पारेजस्तो नै लागेन,’ उनी हाँस्दै भन्छन्, ‘आफूलाई सहज भएपछि बिर्सिएँ होला मैले पनि।’
मन त कपाल पाल्ने अनि बाटेर स्कुल जाने भए पनि यो आँट उनले गर्न सकेनन्। सानो हुँदा न उनले याद गरे, न त शिक्षकहरूले नै। तर जब उपेन्द्र १२/१३ वर्ष लागे, उनमा शारीरिक परिवर्तन आउन थाल्यो। स्कुले जीवन याद गर्दै उनी भन्छन्, ‘त्यसबेला नै मलाई केटा मान्छेहरूप्रति आकर्षण बढेको भान हुन्थ्यो। मन त केटी साथीहरू पनि पर्थ्यो तर उनीहरूप्रतिको नजर बेग्लै भएजस्तो लाग्थ्यो। म केटी हुँ क्यारेजस्तो त मेरो छाती बढ्दै गएपछि पो लाग्न थालेको थियो।’
शैक्षिक प्रमाणपत्रदेखि नागरिकतासम्ममा उनको नाम उपेन्द्र जिम्बा छ। कक्षा १२ मा पढ्दै गर्दा जागिर खाने आशामा उनले अभिभावकले दिएको पहिचानकै आधारमा नागरिकता बन्यो। ‘लिंग पुरुष’ राखेर।
उनलाई पटकपटक लागिरन्थ्यो, म पुरुष हो कि महिला? मलाई किन पुरुष नै मन पर्छ? आफै पुरुष भएपछि महिला मन पर्नुपर्ने जस्ता सोचहरू आइहरन्थे। आफैसँग अलमल्ल थिए उनी।
छोराको दर्जा पाएका उनमा बिस्तारै छोरीका जस्ता लक्षण देखिन थाले। अनि उनको मनमा किन यस्तो भइरहेको छ भन्ने चिन्ता पनि लाग्न थाल्यो।
लैंगिक अल्पसंख्यकका बारेमा ज्ञान थिएन उनलाई। तर, पछिल्लो समय विभिन्न संघसंस्थाले पहिचान खुलाउन मद्दत गरिदिए। उपेन्द्रले आफू केटाका रूपमा जन्मिए पनि महिला रहेछु भन्ने बुझ्दै गए।
आफ्नो पहिचान थाहा पाउँदा उनी १७-१८ वर्षका थिए। कक्षा १२ सम्म मन मारेरै भए पनि केटाकै कपडा लगाएर कपाल काटेका उनले बिस्तारै आफ्नो इच्छाअनुसारको काम गर्ने आँट बटुले।
अनि बनिन् ‘उपमा’
जब उनले आफ्नो वास्तविकता बुझिन्, कपाल पाल्न सुरु गरिन्। नङ पालेर मन पर्ने रङको पोलिस लगाएर टिलिक्क पार्न थालिन्। समाजका डरले कहिल्यै नरंगिएको ओठमा अब गुलाबी रङको लिपिस्टिक पोतिन थाल्यो। राता कुर्था, सुरुवाल, पहेँला सारी निर्धक्कले लगाउन थालिन्।
सुरुसुरुमा उनलाई पनि यसरी हिँड्न अप्ठेरो नलागेको होइन। ‘सुरुमा निकै लाज लाग्यो। केही भन्ने हुन् कि भन्ने डर पनि थियो। तर विस्तारै सबैलाई थाहा हुँदै गएपछि अवस्था सहज नै बन्यो,’ केटाबाट केटी भएर हिँड्न थालेपछिको उनको अनुभव छ।
रहर लागेको पहिचान देखाउन त पाइन्। अब आफ्नो नाम भन्नचाहिँ अप्ठेरो हुन थाल्यो। बोलीवचन सबै केटीको भएपछि केटाको नाम लिएर हिँड्न असहज भयो। अनि नाम परिवर्तन गरेर उपमा राखिन्। नागरिकतामा उपेन्द्र नै भए पनि बोलीचालीमा उपमा नामले परिचित भइन्।
परिवारको साथ
समाजमा फरक पहिचानमा खुलेकी उपमालाई परिवारले पनि साथ दियो। दाजुभाइ, आमाबुवा, बहिनी सबैको साथ पाएपछि हिम्मत पनि बढ्यो। यस्तो समुदाय पनि हुँदो रहेछ भन्ने थाहा पाएपछि उनलाई आफू यौनिक तथा लैंगिक अल्पसंख्यक हुनुमा पीडा लाग्न छोड्यो।
‘आफू मात्रै यस्तो हुँ कि भन्ने लागिरहन्थ्यो,’ उनी भन्छिन्, ‘तर पछि थाहा पाएँ, मजस्ता यहाँ धेरै साथीहरू हुनुहुँदो रहेछ। कोही केटी जन्मिएर केटा भएका, कोही मजस्ता।’
अहिले उनी तिमी केटा हौ कि केटी भन्ने प्रश्नमा निर्धक्क भएर जवाफ दिन्छिन्, ‘म पारलैंगिक महिला हुँ।’
नागरिकताले पीडा
कसैलाई नागरिकता नभएको पीडा हुन्छ भने उनलाई नागरिकताले घरीघरी पीडा दिन्छ।
हाल फ्रेन्ड्स हेटौँडा नामक संस्थामा कार्यरत उनलाई अन्य जागिर खाने रहर नलाग्ने होइन। कक्षा १२ को प्रमाणपत्र साथमा भए पनि उनको रोजगारीको बाधक बनिरहन्छ, नागरिकता।
रोजगारीका लागि आवेदन दिँदा कागजपत्रले प्रायः सधैँ छनौट हुने उनलाई अन्तर्वार्तामा राइन्छ। नाम त उपेन्द्र छ त? यो नागरिकता नक्कली हो कि? भन्ने प्रश्नको जवाफ दिएरै सकिन्छ उनको अन्तर्वार्ता।
यस्तो तीतो अनुभव केही महिनाअघि मात्रै पनि भोग्नुपर्यो उनले। बागमती प्रदेश सरकार मातहतकै कार्यालयमा ठूलो संख्यामा करार कर्मचारीको माग भएको थियो। मागेका कागजात हेर्दा म योग्य नै छु भन्ने लागेर फर्म भरिन्। आवश्यक विवरणसहित राजस्व तिरेर आवेदन दिइन्।
संक्षिप्त सूचीमा नाम पनि निस्किएछ। खुसी लाग्यो। अन्तर्वार्ताका लागि तयार भएर कार्यालय पुगिन्। कागजात हेर्दै अन्तर्वार्ता लिन बसेका महाशयले पहिलो प्रश्न गरे, ‘उपेन्द्र जिम्बा तपाईं नै हो?’ जवाफ स्वाभाविक थियो, ‘हो सर।’ उत्तर सुन्न नभ्याउँदै ती महाशयले भने, ‘ए, तपाईं भोलि आउनुहोस् है।’ उनको अन्तर्वार्ता यतिमै सकियो। जान आग्रह गरेपछि उनी निस्किइन्।
छैन सहज
नेपालमा सामान्य महिला तथा पुरुषहरूका लागि जति सेवासुविधा छ, त्यति सुविधा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मान्छेलाई नभएको उपमा गुनासो गर्छिन्।
उनले भनिन्, ‘कहीँ पनि हाम्रो अनुकूलको सुविधा छजस्तो लाग्दैन। सार्वजनिक बसमा चढ्दादेखि सरकारी स्थलमा समेत लैंगिकमैत्री वातावरण छैन। जहाँ पनि महिला र पुरुष लेखेर छुट्याएको ठाउँ हुन्छ। तर, अन्य भनेर छुट्याएकै हुँदैन।’
यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि सरकारले धेरै काम गर्नै बाँकी रहेको उपमा बताउँछिन्। सुरुमा समाजले हेर्ने दृष्टिकोण बदल्नुपर्ने उनको भनाइ छ।
उनले भनिन्, ‘जबसम्म हामीप्रति समाजले समान व्यवहार गर्दैन, तबसम्म हाम्रो अवस्था दयनीय नै हुन्छ। सरकारले यस विषयमा चाँडै विशेष कदम चालोस्। हामीजस्ता नागरिक राज्यका विभिन्न सेवा–सुविधाबाट वञ्चित नहून्। आफैप्रति गर्व गर्न सकून्।’ र, पहिचानअनुसारको नागरिकता पाउनुपर्ने उनको माग छ।
नेपालखबरबाट ।