बागमती प्रदेशको उद्योग मन्त्रालय भाडाको घरबाट सरकारी भवनमा सर्यो

हेटौंडा / बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय भाडाको घरबाट सरकारी भवनमा सरेको छ। मन्त्रालय स्थापनाको सय दिन पूरा भएको अवसरमा आज भाडाको घरबाट सरकारी भवनमा सरेको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको तत्कालीन जिल्ला विकास समितिको भवनमा उक्त मन्त्रालय सरेको हो। भाडाको घरमा बस्दा राज्यलाई आर्थिक भार बढ्ने भन्दै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले विभागीय जिम्मेवारी पाएको दिनमा भाडाको घरमा मन्त्रालय सञ्चालन नगर्ने घोषणा नै गरेका थिए। सोही अनुरुप जीर्ण अवस्थामा रहेको सरकारी भवनलाई मर्मतसम्भार गरेर मन्त्रालय सारिएको मन्त्री चित्रकारले बताए।
मन्त्रालयको नयाँ भवनमा प्रवेश गर्दै मन्त्री चित्रकारले भने, ‘भाडामा बसेको घर नयाँ, चिटिक्क थियो। तर मासिक एक लाखभन्दा बढी भाडा तिर्नुपरेको देख्दा नराम्रो लागेको थियो। त्यसैले पुरानै भए पनि भाडा नपर्ने सरकारी भवनमा सारिएको हो।’
उक्त मन्त्रालय यसअघि हेटौँडा-४, हुप्राचौरमा रहेको भाडाको घरबाट सञ्चालनमा थियो। उक्त घरको भाडा मासिक एक लाख १० हजार रुपैयाँ थियो।
भिडियो