केपी ओली टी–२० कप : लगातार दाेस्राे जितसहित बागमती सेमिफाइनलमा
लगातार दाेस्राे जितसहित बागमती केपी ओली कप टी–२० क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । आज शुक्रवार भएकाे खेलमा बागमतीले कर्णाली प्रदेशलाई ९० रनले हरायाे ।
बागमतीले दिएकाे १ सय ९० रनकाे लक्ष्य पछ्याएकाे कर्णाली १७ ओभर ३ बलमा ९९ रन बनाउँदा अल आउट भयाे । कर्णालीका अर्जुन घर्तीले २४ र कप्तान रविन्द्र शाहीले २० रन बनाए । बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामिछानेले ४ र दिपेश श्रेष्ठले २ विकेट लिए ।
यसअघि पाेखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेकाे बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनायाे । बागमतीका रित गाैतमले ८२ र ईशान पाण्डेले ७० रन बनाए । बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए ।
यसअघि हिजाे बिहीवार भएकाे खेलमा बागमतीले मदन भण्डारी स्पाेर्ट्स एकेडेमी ‘राताे’ टाेलीलाई १ सय ९ रनले हराएकाे थियाे । बागमती समूह ‘ए’ का दुवै खेल जित्दै सेमिफाइनलमा पुगेकाे हाे ।
हिजाेदेखि शुरु भएकाे प्रतियाेगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताकाे विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

