आफूले आँखा नदेखे पनि देख्नेलाई ‘बाटो’ देखाइरहेका केदार
आँखामा कालो चस्मा। हातमा सेतो छडी। अनि सीप नै सीपका धनी।
दुवै आँखाको ज्योति गुमाएका ६२ वर्षीय केदारबहादुर बजगाईंलाई हिजोआज फुर्सद नै छैन। हरेक दिन उनलाई मसला पिस्ने, प्याकेजिङ गर्नेदेखि अचार बनाउनेसम्मका काम भ्याइनभ्याइ हुन्छ।
आँट गरे काम गर्न अपांगताले छेक्दैन भन्ने ज्वलन्त उदाहरण हुन्- मकवानपुरको मकवानपुरगढी गाउँपालिका-६ निवासी केदार बजगाईं। जन्मजात नै आँखा कम देख्ने उनको आँखाको नानी ४ वर्षदेखि पूरै गुम्यो। आँखाको ज्योति गुमे पनि उनको आत्मविश्वास र साहस भने कहिल्यै गुमेन।
पहिलेदेखि जडीबुटी, अर्गानिक चिया उत्पादन गर्ने गरेका उनले यही कामलाई निरन्तरता दिए। अहिले दुवै आँखा देख्दैनन् उनी। तर पनि आफू आत्मनिर्भर बनेका मात्र छैनन्, अपांगता भएका अन्य मानिसलाई स्वरोजगार बनाउने अभियानमासमेत लागेका छन्।
‘आँखा नदेख्ने भन्नेबित्तिकै मादल बोक्ने, चोकमा बसेर गाना गाएर कमाउने मान्छे भनेर चिनिन थालेका छाैँ’, उनले भने, ‘यसरी हामी आफ्ना हातगोडा सक्षम हुँदा पनि परनिर्भर हुन हुँदैन भन्ने लागेर मैले आत्मनिर्भर हुने उपाय खोजेको हुँ।’
जिल्लामा रहेको मकवानपुर नेत्रहीन संघमा आबद्ध उनीसहित २६ जना केही समयअघि अचार बनाउने तालिममा सहभागी भए। काभ्रेको धुलिखेलमा रहेको सहयोग र सरोकार नामक संस्थाले दिएको तालिममा सहभागी भएपछि उनीहरूमा आत्मनिर्भर बन्ने हौसला बढेको हो।
अहिले उनीहरू मकवानपुर नेत्रहीन संघको सानो दुईकोठे भवनमा अचार बनाउने, मसला बनाउने, तथा प्याकेजिङ गर्ने काम गर्छन्। आफूहरूले बनाएको मसला मानिसहरूको भान्सासम्म पुर्याउन हेटौँडा १५ का बलराम श्रेष्ठले घरघरमा लगेर बेच्ने गरेका छन्।
संस्थाको धरोहर बनेका बजगाईं
नेत्रहीन संघ मकवानपुरका अध्यक्षसमेत रहेका बजगाईंको पहलले आफूहरूमा आत्मविश्वास थपिएको सदस्य बलराम श्रेष्ठ बताउँछन्।
‘संघमा आबद्ध त थियौँ। तर यसरी काम गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने कहिल्यै लागेको थिएन’, उनले भने, ‘अचार बनाउने तालिम लियौँ। मसला पिस्ने मेसिन पनि हेटौँडा उपमहानगरपालिकाले सहयोग गरेको छ। यसले गर्दा हामी आफैँ कमाएर ज्यान पाल्न सक्छौँ भन्ने आत्मविश्वास बढेको छ।’
अन्य सदस्यले दिनभर बनाएका मसला र अचारको व्यापार गर्ने जिम्मा पाएका श्रेष्ठ मानिसले आफ्ना उत्पादन मन पराउन थालेको बताउँछन्।
‘पहिले त आँखा नदेख्ने मानिसहरूले बनाएको सामान फोहोर होला भनेर किन्न मान्दैनथे। केही मानिसहरू भने किन्नपर्छ भनेर प्रोत्साहन पनि दिन्थे। तर पहिलेको तुलनामा अहिले सबैले किन्ने गरेका छन्’, खुसी हुँदै बलरामले भने, ‘यो सबैको देन केदार दाइ नै हो।’
नेत्रहीनलाई सावित्रीको साथ
आँखासँगै बजगाईंले आफन्त, परिवारको साथ र भरोसा पनि गुमाए। तर उनको संघर्षमा दरिलो साथी बनिन्- उनकी जीवनसंगिनी सावित्री बजगाईं।
अहिले सावित्री श्रीमान् केदारको मात्र नभएर उनीहरूको समूहकै संघर्षको सारथि बनेकी छन्।
‘अचार बनाउन छामेकै भरमा धेरै काम गर्न सकिन्छ, तर अचारमा राख्ने छोप केलाउन आँखा नै चाहिन्छ’, उनले भनिन्, ‘म छोप केलाइदिन्छु। तेल तताइदिन्छु, अरु सबै उहाँहरूले गर्नुहुन्छ।’
नेत्रहीनले दिएको रोजगारी
नेत्रहीन भन्नेबित्तिकै आम बुझाइ छ- असक्षम र परनिर्भर। तर तिनै नेत्रहीनले दिएको रोजगारी ४२ वर्षीया कमला ढकालको बाँच्ने आधार बनिरहेको छ।
केदारले बनाएका ग्यास्ट्रिकका आयुर्वेदिक औषधि र चिया बिक्री गरेर कमलाले आफ्नो जीविका धानिरहेकी छन्।
बिक्रीका लागि तयार सामान झोलामा राखेर कमला दिनभर गाउँ/टोल डुल्ने गर्छिन्। केही वर्षदेखि नै यस काममा लागेकी उनको आफ्नै ग्राहकसमेत बनिसकेका छन्। जसले गर्दा मासिक ७ हजारदेखि १० हजारसम्म कमाइ हुने उनको भनाइ छ।
‘कति खुसी लाग्छ नि! आँखा नदेखे पनि परिश्रम गरेर मजस्तो आँखा देख्ने मान्छेलाई रोजगारी दिइरहनुभएको छ। उहाँहरूलाई हेरे पनि आफूमा पनि छुट्टै आँट र जोश आउँछ’, कमलाले भनिन्।
आफ्नै ब्रान्ड बनाउने लक्ष्य
हाल उनीहरूले मुलाको अचार, अखबरे खुर्सानीको अचार, गुन्द्रुकको अचार, चिया मसला र धुलो जिरा मसलाको उत्पादन थालेका हुन्।
आँखा देख्दिनँ, भन्दै अरुको दैलोमा हात फिँजाउन नपरोस् भनेर उत्पादित सामानको आफ्नै ब्रान्ड बनाउने लक्ष्य रहेको नेत्रहीन संघका अध्यक्ष बजगाईं बताउँछन्।
‘अरू त होइन, सबै जनालाई यही कामले आत्मनिर्भर बनाउन त सकिँदैन। तर अचार बनाउन ५/६ जना र मसला बनाउन ५/६ जनालाई आत्मनिर्भर बनाउन सकियो भने आँखा गुमाउनुको पीडा भुल्न सहज होला कि भन्ने उद्देश्य हो’, उनले भने।