अमेरिकी डलरको भाउ आजसम्मकै उच्च बिन्दुमा

पालिका डायरी
३ आश्विन २०८०, ११:३९

पछिल्ला दिनमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको भाउ निरन्तर कमजोर बन्दै गएको छ । सोही क्रममा मंगलबार र बुधबार एक अमेरिकी डलरको विनिमय दर १ सय ३३.५४ रुपैयाँ (बिक्री दर) पुगेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार र बुधबारका लागि तोकेको अमेरिकी डलरको खरिद दर १ सय ३२.९४ रुपैयाँ छ । यो हालसम्मकै उच्च हो केही महिनाअघिसम्म स्थिर रहेको अमेरिकी डलरको भाउ गत साउन दोस्रो सातातिर बढ्न सुरु गरेको थियो ।

पछिल्ला दिनमा विश्व बजारमा डलरको माग बढेपछि भाउ पनि निरन्तर वृद्धि हुन थालेको हो । खासगरी अमेरिकाको फेडरल रिजर्भ बैंकले फेरि ब्याजदर बढाउने चर्चा चलेसँगै विश्वका लगानीकर्ताले डलरको माग बढाउँदा मजबुत बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रोयटर्सले मंगलबार डलरको भाउ पछिल्लो ६ महिनायताकै उच्च बिन्दुमा पुगेको बताएको छ । २०२३ अगस्टमा अमेरिकी अर्थतन्त्रका सूचक अनुमान गरिएभन्दा बढी बलिया भएका छन् । सोही अवधिमा खुद्रा व्यापार अनुमान गरिएभन्दा धेरैले बढेको छ भने बेरोजगारी अनुमान गरिएभन्दा कम छ ।

नेपालमा यसअघि गत फागुन २४ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २३.४४ रुपैयाँ र ०७७ वैशाख १० मा १ सय २३।२४ रुपैयाँसम्म पुगेको थियो । यस्तै ०८० असार मसान्तको तुलनामा गत साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.० प्रतिशतले अवमूल्यन भएको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकले आज  अर्थात बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ३१ पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९१ पैसा र बिक्री दर १६५ रुपैयाँ ६६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
dollar_DbhKOPDgMk