भारतको केरलामा निपा भाइरसका कारण दुई जनाको ज्यान गएपछि चेतावनी जारी

पालिका डायरी
२८ भाद्र २०८०, १४:५१

भारतको केरला राज्यमा निपा भाइरस सङ्क्रमण भएर दुई जनाको ज्यान गएको पुष्टि भएपछि चेतावनी जारी भएको छ ।

केरलाकी स्वास्थ्य मन्त्री वीणा जोर्जले राज्यभर चेतावनी जारी गरेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ । केरलामा सन् २०१८ यता अहिले चौथो पटक निपा भाइरस प्रकोप फैलिएकाे हाे ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपा भाइरस सङ्क्रमण सुँगुर वा चमेरोबाट मानिसमा सर्ने जुनोटिक रोग हो । यो भाइरस मानिसबाट मानिसमा पनि सर्छ । यो रोगको औषधि र खोप छैन तर मृत्युदर भने उच्च छ । केरलामा सन् २०१८ मा १८ जनामा निपा भाइरस सङ्क्रमण पुष्टि भएकोमा १७ जनाको ज्यान गएको थियो ।

रोग लागे पनि धेरैलाई लक्षण देखिँदैन । कडा खालको लक्षण देखिएकाहरुलाई लक्षण अनुसारको उपचार गर्ने र हेरचाह गर्ने गरिन्छ । भारतका स्वास्थ्यमन्त्री मनसुख मांडवियाले सङ्घीय सरकारले केरला राज्यमा निपा भाइरस प्रकोपको आकलन गर्न र प्रकोप व्यवस्थापन गर्न राज्य सरकारलाई सहयोग पुगोस् भनेर एउटा विज्ञ टोली पठाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया