बागमतीको विशाल बाढीमा १२ घण्टा बगेर पनि बाँच्न सफल १७ वर्षे पासाङ

पालिका डायरी
२५ श्रावण २०८०, ०७:४६
बागमतीको विशाल बाढीमा १२ घण्टा बगेर पनि बाँच्न सफल १७ वर्षे पासाङ

सुनिता विष्ट

 

सिन्धुली हरिरहपुरगढी गाउँपालिका १ कोकटीका १७ वर्षीय पासाङ घिसिङ सोमबार दिउँसोसम्म घरमै थिए। उनकी आमा चञ्चलीमाया स्याङ्तान भने घरबाट झण्डै दुई घण्टा लाग्ने स्थानीय ककरे भन्ने ठाउँको खेतमा धान गोड्न गएकी थिइन्। उक्त दिन दिनभरजसो नै पानी पर्‍यो। खेतनजिकै रहेका बागमती नदी र साना खहरे खोला पनि निकै गर्जिन थाले। साँझ पनि पर्न लागेपछि उनले छोरा पासाङलाई फोन गरिन् र आफूलाई लिन आउन भनिन्।

आमाले बोलाएपछि उनी करिब साँझ ५ बजेतिर खेततर्फ लागे। पानी परिरहेकै थियो। उनकी आमा खेतमै रहेको गोठमा ओत लागेर बसेकी थिइन्। ‘बाटो हिलोले चिप्लो नहुँदा त खेतमा पुग्न ठ्याक्कै २ घण्टा लाग्थ्यो। त्यो दिन त चिप्लो भएरै मलाई खेतमा पुग्न झण्डै तीन घण्टा  लाग्यो,’ पासाङ सम्झन्छन्।

खोलाहरू बढ्न थालेपछि उनकी आमा भने छोरा लिन आउँदैन क्यारे भन्ठानी साथी पाएर खुर्कोट भन्ने ठाउँमा रहेको आफन्तको घरमा बास बस्न गइन्। पासाङ खेतमा पुग्दा उनले आमालाई देखेनन्। खेतनजिक भएका मान्छेहरूले पानी ठूलो पर्‍यो खोला बढ्छ भनेर ककरेभन्दा अलि पर रहेको आफन्तको घर गएको बताइदिएपछि पासाङ घर फर्किए।

सिन्धुली, काभ्रे र मकवानपुरको सिमाना भएर बग्ने बागमती नदीको वेग त तीव्र थियो नै, अरु बेला सुक्खाजस्तै हुने ससाना खोला पनि ठूलो गडगडाहटका साथ उर्लिरहेका थिए। पासाङलाई घर कसरी पुगौँजस्तो भयो। सिक्रेदोभान हुँदै जानुपर्थ्यो उनको घर- सिन्धुलीको कोकटी। छाताले नछेक्ने पानी दर्किएपछि उनी मकवानपुरको बागमती ५ सिक्रेदोभानस्थित काका पर्ने अक्कलबहादुरको स्याङ्तानको घरमा केही बेर बसे। रातको ८ बज्नै लाग्यो तर वर्षा थामिने कुनै छाँटकाँट देखिएन।

‘अक्कलबहादुर काकाले यस्तो पानी परेको बेला रातिमा हिँड्न हुन्न, आज यहीँ बस, भोलि सबेरै जाउला भन्नुभयो, मलाई पनि घर पुग्नसक्छु जस्तो लागेन। त्यही भएर त्यो रात अक्कलबहादुर काकाकै घरमा बसेँ’, पासाङ सुनाउँछन्, ‘सबैजनाले खाना खायौं। काभ्रे बिहे गरेर जानुभएकी शान्ती दिदी, भिनाजु, भान्जाभान्जी पनि आउनुभएको रैछ। केही बेर गफ गरेर १० बजेतिर हामी सुत्यौं।’

‘खोलाले बगाएपछि ब्युँझिएँ’
हिलो, चिप्लोमा हिँडेकाले निकै थाकेका पासाङ मस्त निद्रामा थिए। उनको निद्रा तब खुल्यो, जब उर्लिएको सिक्रेदोभानको खहरेले उनको शरीर धकेल्दै बागमती नदीको बीचतिर लगिरहेको थियो।

‘कानमा स्वाँऽऽऽऽ भन्ने आवाज आयो। अनि पो थाहा पाएँ- पहिरोमा परेर बगाइरहेको रहेछ’, मृत्युसँग लडेको त्यो क्षण अस्पतालको बेडमा बसेर पासाङ सम्झिन्छन्, ‘राम्ररी उज्यालो पनि भएको थिएन। खोलामा उर्लिएर आएका ढुंगा र काठका मुढाहरूले लागिरहेको थियो। कहिले पानीमा डुब्दै, कहिले पौडिएर उत्रिँदै गर्दागर्दै कति बेर बित्यो, त्यो त मलाई थाहै भएन।’

गाउँ पस्न खोज्दा जोगियो ज्यान
बाढीबाट निस्किएर जसरी पनि ज्यान बचाउनपर्छ भन्ने आँट उनमा आइरह्यो। झण्डै १२ घण्टाजति बागमती नदीसँगको लडाइँपछि उनी आफ्नो गाउँतिर जाने घट्टेकुलोतर्फ बग्नका लागि बल गरे।

उनी भन्छन्, ‘त्यो कुलोमा पुग्न सकियो भने कुलोले बगाउँदै भने पनि आफ्नै गाउँतिर पुगिन्छ, अनि आफन्तले देखे भने उद्धार गर्छन् भन्ने लागेर उतै बग्नलाई धेरैबेर बल गरेँ।’

नभन्दै लामो समयको कष्टपूर्ण संघर्षपछि उनी बागमती नदीबाट आफ्नो गाउँ पस्ने कुलोमा पुग्न सफल भए। बाढीले बगाएको ढुंगाले लागेर आँखा हेर्नै नसक्ने भैसकेको थियो। खुट्टाका हड्डीले छाला छेडिसकेका थिए। अब त हिँडेरै जान सकौँलाजस्तो उनलाई लागिरह्यो। तर सकेनन्। त्यसपछि घिस्रिएरै कुलैकुलो खेतमा पुगेर अड्किए।

‘कसैले देख्लान् कि भनेर मैले हात हल्लाइरहेँ। धेरै बेरसम्म कोही देखिएनन्’, पासाङ सुनाउँछन्, ‘एकछिनपछि पारिबाट केही मान्छेले मलाई देखेर सिठ्ठी बजाए। मैले हात हल्लाएँ। अनि उहाँहरू आएर मलाई त्यहाँबाट उद्धार गर्नुभयो। कुलोतिर लाग्न नसकेको भए जति प्रयास गर्दा पनि बाँच्ने थिइनँ।’

जिउँदो भेटेको खबर पत्याइनन् आमाले 
दिनभरजस्तै बाढीमा छोरा खोजिरहेको टोलीले घाइते अवस्थामा फेला पारेको खबर सुनेपछि चञ्चलीमायाले पत्याउनै सकिनन्। छोरा जिउँदो भेटिएला भन्ने आश मारिसकेकी उनी शोकमा डुबिसकेकी थिइन्। दिनभर रुवाबासी गरेकी उनलाई साँझमा छोरा जिउँदै भेटियो भन्ने खबरले अक्क न बक्क बनाइदियो।

‘सपना हो कि विपनाजस्तै लाग्यो! जिउँदो भेटिएला भन्ने लागेकै थिएन। भगवान्‌ले हात थापिदिएछन्। मेरो छोरा बाँच्न सफल भयो,’ खुसीले गद्‌गद् हुँदै उनले भनिन्।

माछा मार्न गएकाले बचाए  
पहिरोमा परेकाहरूको उदद्धारका लागि बिहानैदेखि प्रहरी, शसस्त्र प्रहरी, रेडक्रसका मानिस, स्थानीय जनप्रतिनिधि तथा स्थानीय लागिपरेका थिए। तर उनीहरूले पहिरोमा परेकाहरूलाई त्यति तल बगायो होला भन्ने सोच्न पनि सकेनन्। दिनभरजसो घर वरिपरि नै खोजिरहे। तर फेला पार्न सकेनन्।

तर सिन्धुलीका माझीहरूले पासाङलाई दिउँसो ३ बजेतिर फेला पारे। उनीहरूले नै जनप्रतिनिधिहरूलाई खबर गरिदिए। अनि उद्धार टोली गएर उनलाई हेटौँडा अस्पताल ल्याइयो।

 

प्रतिक्रिया
bagamati badhi