रेशम चौधरी भन्छन्, ‘म हत्यारा भएको भए मलाई यसरी स्वागत गर्थे होलान्’
file photo
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफू हत्यारा नभएको स्पष्टीकरण दिएका छन्। हत्यारा भएको भए नागरिकहरूले आफूलाई चार ट्रक मालाले स्वागत नगर्ने बताए।
पार्टी कार्यक्रमका सिलसिलामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आएका रेशमलालले सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कर्णाली आउँदा आफूलाई विमानस्थलमा स्वागत होला भनेर नसोचेको समेत बताए।
उनले भने, ‘म एउटा हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला! हिसाब गर्ने हो भने अहिलेसम्म चार ट्रक मालाले स्वागत गरेका छन्।’
उनले कर्णालीको पीडा राज्यले बुझ्न नसकेको, धेरैले कर्णालीलाई बेच्ने बाटो बनाएको भन्दै अब नागरिक उन्मुक्ति पार्टीले खबरदारी गर्ने दाबी गरे।
यस्तै रेशमलालले सुदूरपश्चिम प्रदेशको नाम ‘सुदूरपश्चिम’ राम्रो नभएको र त्यो बदल्नुपर्ने तर्क राख्दै सुदूरका भूमिपुत्रहरुको सम्मानका लागि पनि पहिचानका आधारमा नामको तय गर्नुपर्ने बताए। साथै उनले थरुहट प्रदेश नाम राख्नुपर्ने आशय व्यक्त गरे।
रेशमलालले पत्रकारहरुलाई टीकापुर घटनाबारे प्रश्न नगर्न आग्रह गरेका थिए। प्रश्नको उत्तर दिँदादिँदा थाकेको भन्दै उनले बरु नवीनतम प्रश्न राख्न पत्रकारलाई आग्रह गरे।
यति भनेपछि पत्रकारहरूले पनि टीकापुर घटनाबारे चौधरीलाई कुनै प्रश्न गरेनन्।


