बागमतीको कृषि मन्त्रालयलाई ३ अर्ब बजेट

पालिका डायरी
१ असार २०८०, १९:१६
बागमतीको कृषि मन्त्रालयलाई ३ अर्ब बजेट

हेटौंडा / बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ३ अर्ब ३८ करोड रुपैंया विनियोजन गरेको छ ।

शुक्रबार आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए । चालु आर्थिक बर्षको लागि ४ अर्ब ७० करोड को बजेट ल्याएकोमा आगामी आर्थिक बर्षको लागि १ अर्ब भन्दा बढि बजेट घटाएर ल्याएको हो।

कषि कार्यक्रम अन्तर्गत कृषकलाई परिचय पत्र वितरण गरिने जानकारी उनले दिए । दूध उत्पादन बढाउन प्रदेशभित्र १० वटा दूध जोन स्थापना गर्न बजेट छुट्याइएको छ । यस्तै, काठमाडौं भित्र एक आधुनिक कृषि बजार स्थापना गर्न पनि बजेट छुट्याइएको उनले बताए । अनुदान, सहुलियकका कार्यक्रम र कृषि विस्तारका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताएका छन् ।

यस्तै, उच्च मूल्यका कृषि बाली वस्तुहरूको उत्पादनदेखि उपभोगसम्मका प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरी साना तथा मझौला कृषकहरूको आयआर्जन वृद्धि गर्न मूल्य श्रृङ्खला प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने बताइएको छ । प्रदेशमा उत्पादित कृषिजन्य बाली वस्तुको भण्डारण, बजारीकरण तथा उत्पादन उपरान्त हुने क्षति न्यूनीकरण गर्न कोल्ड चेम्बर, हर्मेटिक भण्डारण लगायतका पूर्वाधार निर्माण गर्दै लगिने उल्लेख छ ।

कृषि क्षेत्र सम्बद्ध भौतिक पूर्वाधार निर्माणका लागि रु. ४३ करोड १५ लाख विनियोजन गरेको अर्थ मन्त्री लामाले बताए ।

प्रतिक्रिया