बागमतीमा बाढी पहिरोको जोखिम : कुन जिल्लाको अवस्था कस्तो ?

हेटौंडा / नेपालमा मनसुन भित्रिएको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो। यस हिसाबले यस वर्षको मनसुन सरदर मितिभन्दा १ दिन ढिला गरी प्रवेश गरेको महाशाखाले जनाएको छ। मासुनको समयमा अन्य बेलाभन्दा बढी बाढीपहिरोले जनजीवन प्रभावित बनाउने गर्दछ। पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण एकै ठाउँमा धेरै पानी पर्ने र ठुलो भेल पहिरोसहित बाढी आउने गरेको छ।
कतिपय जिल्ला बढीबाट बढी प्रभावित छन् भने कतिपय जिल्ला पहिरोबाट बढी प्रभावित छन्। यस्तै केही जिल्ला बढी र पहिरो दुवैको जोखिममा छन्। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनको समयमा कुन जिल्लामा कस्तो जोखिम पर्न सक्छ भनी अध्ययन गरेर विभिन्न आङ्कलन सार्वजनिक गरेको छ। यस वर्ष विभिन्न जिल्ला उच्च जोखिम, जोखिम र बारम्बार भइरहेको जोखिमको सूचिमा राखेर विवरण सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ।
विगतको तथ्याङ्क, मौसम प्रणाली, यस वर्षको मनसुन पूर्वानुमानलगायत विभिन्न सूचकको विश्लेषणका आधारमा आउँदो मनसुनका समयमा नेपालका २० जिल्ला पहिरोको उच्च जोखिममा छन् भने अन्य ३३ जिल्ला पहिरोको मध्यम जोखिममा छन्।
बागमतीको अवस्था के छ ?
१३ वटा जिल्ला रहेको बागमती प्रदेशले हिमाल, पहाड र तराई तिनै भूभागलाई छोएको छ। जसका कारण कतै पहिरो त कतै बाढि र डुवानको जोखिक उच्च छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्लाको भौगोलिकता तथा विभिन्न सूचकको विश्लेषणका आधारमा मध्यम जोखिम र उच्च जोखिम छुट्याएको छ।
जसमध्ये बागमती प्रदेशका तीन जिल्लाहरुलाई उच्च जोखिममा राखेको छ। ललितपुर, नुवाकोट र धादिङलाई उच्च जोखिम राखिएको हो।
यस्तै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मध्यम जोखिम रहेको जिल्लाहरु सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर र रसुवा रहेका छन् भने बाढीपहिरो दुवैबाट प्रभावित जिल्लामा सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक रहेका छन् । प्रदेशको चितवन र भक्तपुरलाई भने जोखिमको सूचिमा राखेको छैन।
न्यूनीकरणको तयारी के छ ?
यसपटक भित्रिएको मनसुनका समय हुने विपद् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सबै सुरक्षा निकायअन्तर्गत खोज र उद्धार जनशक्ति तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ। विभिन्न निकायअन्तर्गत रहेका विपद्का समयमा उद्धार तथा राहतसँग सम्बन्धित स्रोतसाधन तथा आवश्यक यन्त्र, उपकरण बागमती प्रदेश सहित सातवटै प्रदेशमा तयारी अवस्थामा राखिएको बताइएको छ।
बहुप्रकोपीय जोखिम आङ्कलन विधि तथा कार्ययोजना तयार गर्न प्राधिकरणका सहसचिवको नेतृत्वमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपक्षी मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, केन्द्रीय तथ्याङ्क कार्यालय, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भू–गर्भ विभाग एक कार्यदल पनि गठन भएको छ।
यस्तै, तातो हावाको लहरबाट उत्पन्न परिस्थितिका सम्बन्धमा प्रभावितलाई सहयोग पु¥याउन तत्काल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सङ्घीय निकाय, प्रदेश सरकार, स्थानीय तह तथा सङ्घ संस्थासँग आवश्यक समन्वय गर्ने जिम्मेवारी पनि तोकेको छ ।