मानव सेवा आश्रमको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

पालिका डायरी
१६ जेष्ठ २०८०
मानव सेवा आश्रमको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

हेटौंडा /  मानवसेवा आश्रम मकवानपुरले अर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार मानवसेवा आश्रममा एक कार्यक्रम गर्दै प्रगती प्रतिवेदन सार्वजनिक गरेको हो ।

मानव सेवा आश्रम केन्द्रीय कार्यालय हेटौंडाले एक हजार ५१६ जना सडकपेटी एंव सार्वजनिक स्थलहरुमा जीवनव्यतित गरिरहेका मानिसहरुको उद्धार गरेको बताएको छ । जसमा ९८४ जना पुरुष र ५३२ जना महिला रहेका छन् । आश्रमले ७७८ जनालाई पारिवारिक पुनर्मिलन गराएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । आश्रममा हाल सम्म सेवा लिदाँलिदै १७५ जनाले ज्यान गुमाएका छन् भने ३९३ जनाले अल्पकालीन सेवा लिएको अध्यक्ष अधिकारीले बताए ।

आश्रमबाट ४४ जनाले सामुदायिक पुर्नस्थापना भई स्वावलम्बी जीवन निर्वाह गरिरहेका छन् भने २९ जनालाई पुनः उद्धार गरिएको छ । आश्रममा हाल २१५ जना आश्रित रहेका छन् भने १९ जनाको स्थानान्तरण गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । घरपरिवार र आफन्त विहिन भई सार्वजनिक स्थलहरु वृद्धवृद्धा र मानसिक रुपमा विक्षिप्त भई सडक आश्रित बनेका मानिसहरुलाई आश्रमले सेवा दिइरहेको छ । आव ०७८÷०७९ मा हेटौंडा केन्द्रीय कार्यालयबाट ९९ जनाको उद्धार, ७६ जनाको पारिवारिक पुर्नमिलन, ४६ जनाले अल्पकालीन सेवा लिएका, एक जना सेवा पश्चात स्वावलम्बी जीवन निर्वाह गरिरहेका र १५ जनाको पुनः उद्धार गरिरहेको अध्यक्ष अधिकारीले बताए । नेपालभरमा ८ हजार भन्दा बढीको उद्धार गरिसकेको जनाइएको छ ।

बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक बिहीन, मानसिक तथा शारिरीक रुपमा कमजोर, सडक आश्रित मानवहरुको उद्धार एंव सेवा गर्ने उद्देश्यका साथ मानवता प्रर्वद्धन महाअभियान लागेको आश्रम ०६९ सालमा हेटौंडामा स्थापना भएको थियो । मानव सेवा आश्रमको सेवालाई दीगो बनाउन ३६५ जना आजिवन वार्षिक भोजन सेवा निर्माण गर्न लक्ष्यका साथ अघि बढिरहेको यस आश्रममा आश्रितहरुको नियमित स्वास्थ्य परिक्षण देखी सम्पूर्ण सेवा आश्रमले गर्दै आइरहेको छ ।

मानव सेवा आश्रम नेपालका १९ जिल्लामा २३ सेवाकेन्द्रहरु सञ्चालनमा ल्याएको छ । ०७५ मा सहयोगापेक्षी सडकआश्रित मानवयुक्त मकवानपुर जिल्ला घोषणा गरेको छ भने बागमती प्रदेशलाई यस वर्ष घोषणा गर्ने तयारी रहेको अध्यक्ष अधिकारीले बताए । हामीले गण्डकी र कर्णाली प्रदेशलाई घोषित गरिसकेका छौं, अब यस प्रदेशलाई यसैवर्ष घोषणाको तयारी रहेको अधिकारीले भने । नेपाललाई भने २०८२ साल श्रावण भित्र सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य रहेको अध्यक्ष अधिकारीले बताए । संयुक्त राष्ट्र संघले प्रदान गर्ने सन् २०२३ को संयुक्त राष्ट्र संघ मानव अधिकार पुरस्कार मनोनयनका लागि नेपाल सरकारले मानव सेवा आश्रमलाई सिफारिस गरेको छ ।

कार्यक्रममा मानवसेवा आश्रम मकवानपुरले हालसम्म सहयोगापेक्षी सडकमानवहरुको नियमित उद्दार, औषधोपचार, पारिवारिक पुनःमिलनको सेवा कार्यहरु नियमितरुपमा भइरहेको जानकारी दिइएको थियो । आश्रमले देश विदेशबाट समेत मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियानको सेवा कार्यलाई महसुस गर्न अवलोकन भ्रमण गर्न आउनेहरुको संख्या बढिरहेको र आश्रम समाजसेवा पर्यटन प्रवद्र्धनको केन्द्र बन्दै गइरहेको बताइएको छ ।

मानवसेवा आश्रम मकवानपुरले अर्थिक वर्ष २०७८/०७९ गरेका उपलब्धिहरुमा मानवीय सेवामा तिव्रता र गुणस्तर बढ्दा सबैको साथ, सहयोग बढ्दै गएको बताइएको छ । यसैगरी आश्रमको सेवामा सडकपेटी एवम् सार्वजनिक स्थलमा सहयोगापेक्षी भेटिए मानवसेवा आश्रममा सम्पर्क गर्ने वातावरण बन्दै गएको, तीनै तहका सरकारको निरन्तर साथ, सहयोग एवम् अभिभावकत्व प्राप्त हुँदै गएको बताएको थियो ।
मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको बिशेष आतिथ्यतारहेको थियो ।

कार्यक्रममा मानवसेवा आश्रम मकवानपुरले गरेका कामहरु मानवता प्रवद्र्धनअन्तर्गतका विभिन्न रचनात्मक प्रशिक्षण कार्यक्रमहरुको जानकारी गराइएको थियो ।

प्रतिक्रिया