व्यापारमा भन्दा उत्पादनमूलक उद्योगमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

पालिका डायरी
२८ चैत्र २०७९, १४:१३

अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न आग्रह गरेका छन् ।

मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधरण सभामा बोल्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि निजी क्षेत्रले व्यापारमा मात्रै नभई उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

मुलुकका हरेक संयन्त्रमा समस्या रहेको भन्दै सबैले सुधार गर्न आवश्यक रहेको पनि उनले बताए । अर्थमन्त्री महतले सरकारको पनि प्रभावकारिता र पारदर्र्शिता बढाउन आवश्यक रहेको बताए । निजी क्षेत्रले उत्पादनमुलक उद्योग–व्यवसायमा लगानी केन्द्रित गरे सरकारले पनि लगानीको वातावरण सहज बनाउनका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन उपायहरुको व्यवस्था गर्ने बताए ।

‘सरकारका पनि कमी कमजोरीहरु रहेका छन् । सरकारले समयमा नै खर्च गर्नसकेको छैन । त्यो स्वीकार गर्नुपर्छ,’ अर्थमन्त्री महतले भने, ‘समग्र सरकार र निजी क्षेत्र सबैतिर समस्या रहेको छ । राजनीतिक,निजी क्षेत्र र कर्मचारी तन्त्रमा समेत समस्या छ । त्यसैले सरकारको प्रभावकारीता बढ्न जरुरी छ । पारदर्शीता बढाउन जरुरी छ । निजी क्षेत्रको पनि व्यापारमा मात्रै केन्द्रित भइरहेको अवस्था छ । अब लगानीतर्फ केन्द्रित गर्न जरुरी छ । सरकारले लगानीको वातावरण सहज बनाउनको लागि अल्पकालिन,मध्यकालिन र दीर्घकालिन उपायहरु गर्छौं ।’

उनले अन्तर्राष्ट्रिय स्तरमा भइरहेका युद्धहरुको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि ४ प्रतिशतभन्दा माथि हुने बताए । तत्कालका लागि सरकारको सम्पूर्ण ध्यान पुँजीगत खर्च गर्ने क्षमता प्रभावकारी बनाउने र साधारण खर्चलाई कम गर्नेमा रहेको पनि उनले बताए ।

सरकारले सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गर्ने साधारण खर्च कम गर्न नसक्ने तर पुँजीगत खर्चमा वृद्धि गरी बजारमा तरलताको सहजता बनाई आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्ने उनले बताए । निजी क्षेत्रको लगानीबाट नै अर्थतन्त्र चलायमान हुने भन्दै सरकारले सहजकर्ताको भुमिका निर्वाह गर्ने उनको भनाइ छ ।

अर्थमन्त्री महतले मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भएको पनि बताएका छन् । काभिड–१९ पछिको अर्थतन्त्रको दबाब कम गर्न लिइएको मौद्रिक नीतिका कारणले केही समस्या आएको भन्दै यसलाई फुकाउने समय भएको बताए । मौद्रिक नीतिमार्फत आयात रोकेका कारण राजश्वमा दबाब तथा बैंकको ब्याजदर बढ्दा लगानीको वातावरण बिग्रेको उनको भनाइ छ ।

प्रतिक्रिया
PRO_KTM-6F8A4345-scaled