एमालेले शनिवार उम्मेदवार टुंगो लगाउने, गठबन्धनविरुद्ध उपचुनावमा एक्लै भिड्ने

पालिका डायरी
१६ चैत्र २०७९
एमालेले शनिवार उम्मेदवार टुंगो लगाउने, गठबन्धनविरुद्ध उपचुनावमा एक्लै भिड्ने

प्रमुख विपक्षी दल नेकपा एमालेले वैशाख १० मा हुने उपचुनावका लागि शनिवार उम्मेदवारको टुंगो लगाउने भएको छ ।

बारा २,चितवन २ र तनहुँ १ तीनवटै क्षेत्रमा एमालेले आफ्ना उम्मेदवार खडा गर्ने र गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने तयारी छ ।

चैत १७ गते शुक्रवारसम्म जिल्लाबाट उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस हुने र १८ गते सचिवालय बैठक बसेर तीनवटै क्षेत्रका उम्मेदवार तय गरिने उपमहासचिव विष्णु रिमालले नेपाल प्रेसलाई जानकारी दिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू यसबीचमा मिसन ग्रासरुट अभियानमा काठमाडौं बाहिर थिए । उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ । एमालेविरुद्ध गठबन्धनले साझा उम्मेदवार तय गरेको छ ।

बारा २ मा जसपाका उपेन्द्र यादव र चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई गठबन्धनले साझा उम्मेदवार बनाएको छ ।

त्यस्तै तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईलाई गठबन्धनबाट साझा उम्मेदवार बनाउने तयारी छ ।

प्रतिक्रिया