विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई बागमती सरकारले जनही एक लाख दिने

पालिका डायरी
३ चैत्र २०७९, १२:४८
mukhyamantri kryalay bagamati

हेटौंडा / बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई जनही १ लाख रूपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको छ । क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप सो रकम पुरस्कार दिने प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।

क्रिकेट खेलाडीहरुले उत्कृष्ट खेलेका कारण देशको शिर उचाईमा पुर्याएकोमा प्रदेश सरकारले गौरव गरेको थपलियाले बताउनुभयो । खेलाडीसङ्ग प्रदेश सरकार सदैव साथ रहने बताउनुभयो ।

यूएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुग्यो । विश्वकप लिग–२ का सहभागी ७ टोलीमध्ये शीर्ष ३ टोली ‍विश्वकप छनोटमा पुग्ने प्रावधान थियो ।

आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बावेमा हुने विश्वकपको विश्वस्तरको छनोटमा १० टोली सहभागी हुनेछन् । त्यहाँ आईसीसीका १२ पूर्ण सदस्य र नेदरल्यान्ड्सले खेलिरहेको सुपर लिगका अन्तिम ५ टोली पनि रहने छन् ।

तीमध्ये नेदरल्यान्ड्स र जिम्बावेले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ । विश्वकप छनोटमा विश्वकप लिग–२ बाट नेपाल, ओमान र स्कटल्यान्ड पुगेका छन् । अब बाँकी दुई टोलीको टुंगो विश्वकपको विश्वस्तरको छनोटका लागि हुने प्ले अफबाट लाग्ने छ ।

प्ले अफमा विश्वकप लिग(२ का अन्तिम ४ टोलीहरु नामिबिया, अमेरिका, यूएई र पीएनजी तथा च्यालेन्ज लिगका शीर्ष दुई टोली जर्सी र क्यानडा भिड्नेछन् । त्यहाँबाट दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन्। विश्वकप छनोटबाट भने केवल दुई टोली मात्र विश्वकपमा पुग्ने छन् ।

विश्वकप छनोटमा सहभागी १० टोलीलाई पहिलो चरणमा दुई वटा समूहमा विभाजन गरिने छ। समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा शीर्ष २ स्थानमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन् । विश्वकपमा सोझै छनोट भएका ७ टोली तय भइसकेको छ

प्रतिक्रिया