उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार टुंग्याउन सत्ता गठबन्धन दलको बैठक बस्दै
सरकार समर्थित १० दलको बैठक सिंहदरबारमा बस्ने भएको छ ।
उपराष्ट्रपतिमा जसपाबाट २ जना र जनमतबाट १ जनाको उम्मेदवारी परेपछि आधिकारिक उम्मेदवारको घोषणा गर्नेसहित विषयमा छलफल गर्न सत्ता गठबन्धनमा आबद्ध दलको बैठक बस्न लागेको हो ।
निर्वाचन अधिकृतको कार्यालयले जसपाका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायम हुने निर्णय गरेपछि जसपाबाटै उम्मेदवारी दिने प्रमिला यादवको उम्मेदवारी फिर्ता लिने तयारी छ ।
तर जनमतबाट ममता झाको उम्मेदवारी परे पनि अध्यक्ष सीके राउतले उम्मेदवारी फिर्ता नलिने बताएका छन् । यसैले अहिलेसम्म गठबन्धनमै रहेको जनमतको पनि उम्मेदवारी फिर्ता लिने तयारीमा गठबन्धन दल छन् ।
राउतले शनिबारको गठबन्धन दलको बैठकपछि अन्तिममा गठबन्धनको एउटै उम्मेदवार हुने पनि बताएका थिए । तर शनिबार साँझ लोसपा, जनमत र नागरिक उन्मुक्तिले मोर्चा बनाएपछि उनीहरूले उम्मेदवारी कायम राख्नेमा आशंका व्यक्त गरिएको छ ।
आजै १ देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छ । ५ बजेसम्ममा उपराष्ट्रपतिको लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने तयारी छ ।