हँसियाको भरमा बाघको पञ्जाबाट यसरी फुत्किइन् मैती

पालिका डायरी
२९ माघ २०७९
हँसियाको भरमा बाघको पञ्जाबाट यसरी फुत्किइन् मैती

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १८ सुकौराकी ५८ वर्षीया मैतीकुमारी बयलकोटी त्यस्ती भाग्यमानी व्यक्ति हुन्, जो बाघको मुखबाट फुत्केर आउन सफल भएकी छन्। त्यो पनि एउटा सानो हँसियाको भरमा बाघको आक्रमणलाई विफल बनाउँदै।

माघ २५ गते बुधबार बिहानको खाना खाएपछि बयलकोटी घाँस काट्न घरबाट आधा घण्टा टाढाको सिमसार जंगलमा गइन्। दिनको १ बज्दा नबज्दै एक भारी घाँस काटिन् र सडकसम्म ल्याइन्। उनीसँगै २/३ जना साथी पनि थिए। उनीहरु सबैले सडकमा फेला पारेको ट्रयाक्टरमा घाँसको भारी हाले। घर पुग्न सडकको बाटो १०/१५ मिनेट लाग्थ्यो। तर बाटोमा उतै जान लागेको रित्तो ट्रयाक्टर भेटेपछि त्यही ट्रयाक्टरमा सबैले घाँस ल्याए।

घाँस लिएर घर पुगेपछि बल्ल थाहा पाइन्, पोल्टामा राखेको दमको औषधि जंगलमै हराएछ। उनी हरेक दिन एउटा औषधि राखेर नस लिने गर्छिन्। ३० वटा औषधि रहेको पत्तामा एउटा मात्रै प्रयोग गरेकी उनले २९ दिनलाई पुग्ने औषधि माया मार्न सकिनन्। उनले छोरी सुस्मिता बयलकोटीलाई औषधि हराएको सुनाइन्।

छोरीले भनिन्, ‘गाउँमा बाघ आएको छ त्यति औषधिको लागि अब एक्लै नजानू।’तर, ९ सय चानचुन पैसा तिरेर किनेको औषधि त्यो पनि एउटा भन्दा खाएकै छैन भन्ने लागेर उनी फेरि सोही जंगलतिर लागिन्।

‘बुढी मान्छे, पहिले बाउबाजेले भनेका कुरा अझै सम्झना आउँछ। जान लाग्दा बिरालोले बाटो काटेको थियो। बिरालोले बाटो काट्दा त्यो बाटो जान हुन्न भन्ने सुनेको थिएँ। त्यही भएर त्यो बाटो नगएर घरभन्दा माथि आफ्नै बारीबाट गएँ। बाघको बिगबिगी भएको बेला नजाऊँ कि जस्तो लागेको त थियो। तर औषधि सम्झेर होस् के को डर भनेर औषधि खोज्न जंगलतिर लागेँ,’ मैतीकुमारीले सुनाइन्।

जाँदा जाँदै उनले बाटोमा आफ्ना दुई जना छिमेकीलाई भेटिन्। उनीहरुले सोध्दा आफ्नो औषधि हराएकोले खोज्न हिँडेको र जंगलमा पत्कर, घाँस जे पाए पनि ल्याउन हुन्छ भनेर डोको बोकेको जवाफ उनले दिइन्। दुई छिमेकी पनि उनीसँगै साग टिप्न भनेर साथ लागे।

‘औषधि त घाँस ट्रयाक्टरमा हाल्दा सडकमै खसेको रहेछ, भेटियो। साथीहरु पाएपछि किन रित्तो डोको घर फर्कनु भन्ने लागेर हामी तीनै जना जंगलतिर गयौँ,’ उनले भनिन्।

जंगलमा पुगेपछि दुईजना साथीहरुले खोला छेउछाउमा साग टिप्न थाले। बयलकोटीको ध्यान भने घाँससोतर तिरै गयो। साथीहरुभन्दा अलि पर पुगेर घाँस काटिरहेकी उनले एक मुठा बाँधिन्। त्यो मुठालाई त्यहीँ राखेर कान्लामाथिको एक त्यान्द्रो हरियो घाँस देखेपछि त्यो घाँस काट्न लम्किन्।

‘त्यही एक त्यान्द्रो घाँसले कसो मेरो ज्यान गएन। जब मैले तन्केर घाँस तान्न खोजेँ, त्यहीबेला पछाडिबाट झम्लङ्ग हामफालेर मलाई पन्जाले मुखमा आक्रमण गर्यो। मेरो हातमा हँसिया थियो। मैले त्यो हँसियाले दुई फेर जति हानेँ। त्यसपछि फर्केर नहेरी तल्तिर हामफालेर भाग्यो,’ बयलकोटीले सुनाइन्।

‘पहिला त के हो भन्ने पनि मनमा आएन। हान्न थालेछु। हँसियाले लागेपछि तल्तिर हाम फाल्दा पो थाहा पाएँ, बाघ रैछ,’ उनले भनिन्, ‘बाघले झम्टँदा म लडेको भए मार्थ्यो होला। मलाई ठाडै उभिने शक्ति आएको भएर मात्रै बाँच्न सफल भएको हुँ। नत्र त हाडखोड राख्दैनथ्यो होला।’

बुधबार सवा तीन बजेतिर बाघले आक्रमण गरेको कुरा सम्झेर अहिले अस्पतालकै बेडमा बस्दा पनि डर लागिरहेको उनी बताउँछिन्।

साथीहरु सँगै भएकोले तुरुन्तै उनलाई सडकसम्म ल्याएर उपचारका लागि अस्पताल पुर्याए। छरछिमेकी, जनप्रतिनिधि लगायतले उनलाई अस्पताल ल्याएर अहिले नयाँ जीवन पाएकी छिन्। ढाडमा र गालामा प्वाल परेको छ भने छिनेको ओठ जोडिँदै गएको छ। एक दिन भरतपुर अस्पतालमा उपचार गराएपछि  अहिले उनी हेटौंडा अस्पतालमा उपचारत छिन्।

‘दुखीलाई काल चाँडो आउँदैन भन्थे हो रैछ जस्तै लागिराछ,’ उनले आँसु बगाउँदै भनिन्।

बिहे भैसकेकी एउटी छोरी उनको हेरविचारमा छिन्। एकल महिला मैतीकुमारीको एक छोरा पनि छन्। तर कमाउन नसक्ने अवस्थाका छोराको सहारा समेत आफैँ भएको उनले बताइन्।

उपचार गराउन छिमेकीसँग सरसापट गरेर आएकी उनलाई सहयोगको खाँचो रहेको छोरी सुस्मिताले बताइन्।

प्रतिक्रिया