बागमती प्रदेश : श्रम मन्त्रालयले सार्वजनिक गर्‍यो ३४ बुँदे प्रतिबद्धता

पालिका डायरी
११ फाल्गुन २०७९, २०:२२

हेटौंडा / बागमती प्रदेश श्रम रोजगार तथा यातायातमन्त्री एकलाल श्रेष्ठले ३४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आगामी दिनमा मन्त्रालयले गर्ने कामहरुको योजनाको बिषयमा तयार पारिएको ३४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।

मन्त्री श्रेष्ठले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा इम्बोस्ट नम्बर प्लेट जडानदेखि स्मार्ट लाइसेन्स वितरणका कुराहरुलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ।

३४ बुँदे प्रतिबद्धतामा मन्त्री श्रेष्ठले श्रमिक डेस्क स्थापना गर्ने, आप्रवासी सूचना केन्द्र विस्तार गर्ने, १० हजार युवालाई सीपमूलक तालिम सन्चालन गर्ने, २ वटा तालिम केन्द्र स्थापना गर्ने, विज्ञ समूह गठन गरी स्वदेशमै रोजगारी सिर्जना हुने क्षेत्रको पहिचान गर्ने उल्लेख गरेका छन्।

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको लागि विदेश जानु भन्दा पहिला नै रोजगारी सम्बद्ध सचेतना र आवश्यक सूचना प्रवाहका लागि हाल प्रदेशको ८ जिल्लाको ३२ स्थानीय तहको सहभागितामा आप्रवासी सूचना केन्द्र सञ्चालनमा रहेकोमा यसलाई विस्तार गरिने मन्त्री श्रेष्ठले बताए।

चालु आव भित्रै दोलखामा जिल्ला प्रशासन कार्यालयको हाता भित्र रहने गरी केन्द्र संचालनमा ल्याईनेछ उनले बताए।

वैदेशिक रोजगारीबाट फर्केका यूवाहरुको सीप, पूँजी र प्रविधिलाई स्वदेशमै प्रयोग गर्ने गरी पुनःएकीकरण कार्यक्रम सञ्चालन गरिने तथा स्वरोजगारीका अवसरहरुलाई प्रोत्साहन गर्न आवश्यक कार्यक्रम संचालनमा ल्याइने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।

यस्तै, मन्त्री श्रेष्ठले दोलखा वा सिन्धुपाल्चोक र धादिङमा यातायात कार्यालय स्थापना गर्ने, सवारी अभिलेखलाई डिजिटलाइजेसन गर्ने, अनलाइनमार्फत सेवा प्रदान गर्ने, सवारी चालक अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया सरल र सहज बनाउने, यातायात व्यवस्था कार्यालय र ट्रायल सेन्टर काठमाडौं, हेटौंडा र भरतपुरमा आफ्नै स्वामित्वमा सन्चालन गर्ने योजना प्रस्तुत गरेका हुन्।

प्रतिक्रिया