बिहे भोज खाँदा २ सय जनाभन्दा बढी बिरामी भएपछि चितवन गार्डेन रिसोर्टमा शील

पालिका डायरी
२८ मंसिर २०७९

चितवनमा बिहे भोज खाएर दुई जय जनाभन्दा बढी बिरामी परेपछि चितवन गार्डेन रिसोर्टमा शील गरएको छ । रिसोर्टमा आयोजना गरिएको विवाह भोजमा सहभागी भएका २ सय जनाभन्दा बढी एकै पटक बिरामी परेपछि जिल्ला प्रशासन कार्यालयले होटल शील गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी  शर्मा र चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील लगाइएको हो ।

नवलपुरको गैंडाकोटबाट भरतपुर जन्ती आएकाहरु यस रिसोर्टमा शुक्रवार बिहे भोज खाएपछि बिरामी परेका थिए । बिहे भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । यी समस्या देखा परेका बिरामीहरुलाई हस्पिटलमा भर्ना हुन आग्रह गरिएको होटलका प्रबन्ध निर्देशक जनार्दन रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार ६६ जनाले उपचार समेत गराइसकेका छन्।

बिहे भोज खाएका दुई सयभन्दा बढी बिरामी परेपछि भरतपुर महानगर र जिल्ला प्रशासन कार्यालयले होटलको अनुगमन गरेको थियो । घटना पश्चात भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनाल, वडा अध्यक्ष मनोज रानाभाट, वडा सदस्यहरुलगायतको टोलीले होटलमा पुगेर अनुगमन गरेको हो । मेयर दाहालले सबै निकायबाट प्रतिवेदन तयार भइरहेको भन्दै दोषी ठहर भए कारबाही गर्ने बताउनुभएको छ  ।

होटलका प्रबन्ध निर्देशक रिजालले बिरामीहरुलाई एउटा अस्पतालमा उपचारको लागि व्यवस्थापन गरिएको भन्दै अन्य पक्षबारे सोधखोज भइरहेको बताउनुभयो ।

प्रतिक्रिया