एन्फाले लिगका लागि राखेपसँग ६ करोड माग्यो
यो वर्षको सहिद स्मारक ए डिभिजन लिग आयोजनामा अन्योलता यथावत रहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन श्रेणीको लिग सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप
)सँग ६ करोड रुपैयाँ सहयोगका लागि आग्रह गरेको छ ।
अध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा र महासचिव किरण राईले बुधबार राखेप सदस्य सचिव टंकलाल घिसिङलाई लिगका लागि बजेट व्यवस्था गरिदिन पत्र बुझाएका थिए । ए,बी,सी डिभिजन लिगका लागि १८ करोड रुपैयाँ भन्दा बढी खर्च हुने उल्लेख गर्दै एन्फाले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राखेपमार्फत ६ करोड रुपैयाँ बजेट उपलब्ध गराइदिन अनुरोध गरेको छ ।
ए डिभिजनका लागि ३ करोड, बीका लागि २ र सी डिभिजनका लागि १ करोड रुपैयाँ सहयोगको अपेक्षा एन्फाले राखेको छ । ए डिभिजन सञ्चालनका लागि मात्र १० करोड भन्दा बढी खर्च हुने एन्फाले जनाएको छ । लिगका लागि गत वर्षको तयारीको बाँकी र यो वर्षको ५० प्रतिशत रकम आफ्नै प्रतिबद्धता अनुसार एन्फाले उपलब्ध नगराएपछि पुस २६ गतेबाट सुरु हुने भनिएको ए डिभिजन लिग अन्योलमा परेको छ ।
तीन पटक समय समय सिमा तोकेर पनि एन्फाले तयारी रकम उपलब्ध नगराएको भन्दै १४ मध्ये ९ ए डिभिजन टोलीले संयुक्त रुपमा एन्फालाई पत्र बुझाउँदै तयारी खर्च उपलब्ध गराएको ३ महिना पछि मात्र लिग खेल्न सक्ने जनाएका छन् ।