हेटौँडा–११ ‘ए’ जिल्ला स्तरीय भलिबल प्रतियोगिताको च्याम्पियन, पूर्व खेलाडीहरू सम्मानित

पालिका डायरी
२५ जेष्ठ २०८३, १०:१५

हेटौँडा /  हेटौँडा उपमहानगरपालिका–११ स्थित सरस्वती मितेरी खेल मैदानमा आयोजित जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक हेटौँडा–११ ‘ए’ टोलीले जितेको छ। जेठ २१ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै हेटौँडा–११ ‘ए’ ले उपाधि आफ्नो नाममा लेखाएको हो।

प्रतियोगितामा थाहा नगरपालिकाको सोल्टु युवा क्लब द्वितीय तथा थाहा नगरपालिका युवा क्लब तृतीय भएको छ। त्यसैगरी हटिया स्पोर्ट्स क्लब र बज्रबाराही स्पोर्ट्स क्लब सान्त्वना स्थानमा सीमित भएका छन्।

विजेता टोली हेटौँडा–११ ‘ए’ ले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सोल्टु युवा क्लबले ३० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। तृतीय स्थान हासिल गर्ने टोलीलाई २० हजार रुपैयाँ तथा सान्त्वना हुने दुई टोलीलाई जनही १०/१० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

सरस्वती टोल विकास संस्थाका अध्यक्ष गोकुल बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ रहेका थिए। कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले विशेष अतिथिका रूपमा सहभागिता जनाएका थिए।

समारोहमा हेटौँडा–११ का वडाध्यक्ष जुना दाहाल, वडा सदस्यहरू गोपिनी सापकोटा, विकास नेपाल, सञ्जय बिडारी तथा विभिन्न सामाजिक, राजनीतिक व्यक्तित्व, खेलप्रेमी र स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा हेटौँडा–११ मा २०४३ सालदेखि विभिन्न समयमा जिल्ला तथा राष्ट्रिय स्तरमा योगदान पुर्‍याएका पूर्व भलिबल खेलाडीहरूलाई सम्मान गरिएको थियो। खेलकुद क्षेत्रको विकास र भलिबल खेलप्रतिको योगदानको कदर गर्दै उनीहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ।

जिल्ला स्तरीय भलिबल प्रतियोगितामा मकवानपुर जिल्लाका विभिन्न क्षेत्रबाट आएका १३ वटा टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न, खेलकुद संस्कृतिको विकास गर्न तथा नयाँ पुस्तालाई खेलप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले विश्वास लिएको छ।

समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलकुद क्षेत्र युवाको भविष्य निर्माणसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै प्रदेश सरकारले खेलकुद पूर्वाधार विकास तथा खेलाडी प्रोत्साहनका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए। उनले हाल बजेट निर्माणको समय भएकाले आगामी बजेटमा खेल क्षेत्रलाई प्राथमिकतामा राख्ने आश्वासनसमेत दिए।

जिल्ला स्तरीय भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि हेटौँडा–११ को सरस्वती मितेरी खेल मैदान खेलकुद गतिविधिको केन्द्रका रूपमा थप परिचित बनेको छ। आयोजकले आगामी वर्षहरूमा अझ व्यापक सहभागितासहित प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया