२ बजेपछि सर्वोच्च प्रवेश गर्छु: चोलेन्द्रशम्सेर
महाअभियोगपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाले आझ दिउँसो २ बजेपछि सर्वोच्च अदालत प्रवेश गर्ने बताएका छन्।
सेतापाटीसँग संक्षिप्त कुराकानी गर्दै राणाले संसद सचिवालयबाट महाअभियोग निष्प्रभावी भएको पत्र प्राप्त गरेकाले त्यही पत्रको आधारमा सर्वोच्च छिर्न लागेको बताएका हुन्।
‘म विरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र संसद सचिवालयले पठाएको छ। त्यही पत्रका आधारमा म सर्वोच्च प्रवेश गर्न लागेको हुँ,’ उनले भने।
जबराले यसअघि २ असोजमा पनि सर्वोच्च छिर्ने प्रयास गरेका थिए। त्यसबेला उनको प्रयास असफल भएको थियो। महाअभियोग निष्प्रभावी भएको पत्र प्राप्त भएकाले यसपटक आफूमाथि अवरोध भए त्यो विधि विपरीत हुने राणाले बताए। ‘विधि र प्रक्रियाको पालना गर्दै म सर्वोच्च छिर्न लागेको हुँ। ममाथि अवरोध गर्नु भनेको विधिको उल्लंघन हो,’ राणाले भने।
प्रतिक्रिया