अहिलेकै गठबन्धनलाई निरन्तरता दिने देउवाको तयारी, एमाले ‘पर्ख र हेर’ मा

पालिका डायरी
१७ मंसिर २०७९
अहिलेकै गठबन्धनलाई निरन्तरता दिने देउवाको तयारी, एमाले ‘पर्ख र हेर’ मा

चुनावी नतिजा अन्तिम चरणमा पुग्न लागेकै बेला दलहरु नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् । सत्तारुढ गठबन्धनले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने प्रयास गरेको छ । तर कसको नेतृत्वमा भन्ने यकिन भइसकेको छैन । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको तयारीलाई तीव्र बनाएको छ ।

गठबन्धनभित्रका दलबाट मात्रै बहुमत पुग्ने निश्चित नभएपछि कांग्रेसले गठबन्धनलाई कायम राख्दै संसदमा प्रतिनिधित्व गर्ने अरु दलसँग पनि समानान्तर रूपमा छलफल थालेको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले अस्ति बिहीवार जनमत पार्टीका अध्यक्ष सिके राउतसँगको भेटेर सरकारमा सहकार्यका लागि औपचारिक छलफल गर्नुभएको छ । राउतले कांग्रेससँग सङ्घ र प्रदेशमा सरकार गठनमा सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ ।

जनमत पार्टीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक सिट जितेको छ भने समानुपातिकतर्फ चार सिट पाउने देखिन्छ । १ सय ६५ मध्ये १ सय ६२ सिटको अन्तिम नतिजा आउँदा कांग्रेसले ५५ स्थानमा जित निकालेको छ । बाँकी तीन सिटमध्ये गणना भइरहेका दुई सिटमा कांग्रेसकै अग्रता छ । अहिलेसम्म प्राप्त मतलाई आधार मान्दा कांग्रेसले समानुपातिकमा ३२ सिट पाउने सम्भावना छ ।

त्यस्तै, माओवादीले १७ सिट जितेको छ भने एक ठाउँमा अग्रता लिएको छ । माओवादीले १४ समानुपातिक सिट पाउने सम्भावना छ । एकीकृत समाजवादीले १० सिट जितेको छ । समानुपातिकमा थ्रेसहोल्ड कटाउने अझै निश्चित छैन । लोसपाले चार सिट र राष्ट्रिय जनमोर्चाले एक सिट जितेकाे छ । परिणाम आउन बाँकी तीनवटै ठाउँमा गठबन्धनले जित निकाल्दा पनि एक सय ३३ सिट मात्र पुग्छ । सरकार गठनका लागि बहुमत जुटाउन एक सय ३८ सांसद चाहिन्छ । त्यसैले बहुमत जुटाउन कांग्रेससहितका गठबन्धन दलका नेताहरुले जनमतसहित अरु पार्टीका नेताहरुसँग भेटवार्ता थालेका हुन् ।

माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागारमै पुगेर नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेट गरिसकेका छन् । प्रचण्डले सोमवार तथा नेपाल र भट्टराईले मङ्गलवार भेटेका हुन् । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ तीन सिट जितेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिमा भने थ्रेसहोल्ड कटाउने सम्भावना देखिएको छैन । गठबन्धनका नेताहरुले दुई सिट रहेको प्रभु साह समूह र अमरेशकुमार सिंहसँग पनि सम्पर्क गरेका छन् ।

यसैबीच प्रतिनिधि सभामा प्रत्यक्षतर्फ दोस्रो र समानुपातिक मतमा पहिलो दल बनेको एमालेले सरकार गठनमा सत्ता गठबन्धनको रणनीति कुर्ने भएको छ । अहिलेसम्मको परिणामले सत्ता गठबन्धन बहुमतनजिक रहेकाले एमाले अन्तिम नतिजा आइसकेपछि मात्रै निर्णय गर्ने तयारीमा रहेको हो ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीका विषयमा सहमति हुन नसकेमा एमालेको नेतृत्वमा अर्को समीकरण बन्ने सम्भावना छ । यही गठबन्धन कायम रहे पहिला प्रधानमन्त्री को हुने भन्ने देउवा र दाहालबीच सहमति हुन बाँकी छ । उनीहरूबीच सहमति हुन नसके कांग्रेस–एमाले वा एमाले–माओवादी र अन्य दलको समीकरण सक्ने विश्लेषण हुँदै आएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चा भने यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन् ।

प्रतिक्रिया
deuwa-oli_NEAzagCHGi