सुकुम्बासी बस्तीको समस्यालाई लिएर मेयर बालेन्द्र शाहद्वारा प्रधानमन्त्री देउवासँग छलफल

पालिका डायरी
१३ मंसिर २०७९
सुकुम्बासी बस्तीको समस्यालाई लिएर मेयर बालेन्द्र शाहद्वारा प्रधानमन्त्री देउवासँग छलफल file photo

काठमाण्डौ महानगरपालिकाले बाग्मती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे थप छलफल र तयारीलाई अगाडि बढाउने भएको छ । महानगरका मेयर बालेन्द्र शाहले आवश्यक छलफल थाल्नुभएको छ ।

हिजोको अवस्थापछि बेलुका मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारेमा छलफल समेत गर्नुभएको छ । हिजो थापाथली बस्तीमा महानगर तथा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो ।

महानगरको नगर प्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्बासीले घरेलु हतियारसहित ढुङ्गामुढा समेत गरेका थिए । सुकुम्बासी बाग्मती बस्तीका बासिन्दा रातभर पनि जाग्राम बसेका छन् । यसअघि बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मती सुकुम्बासी बस्ती हटाउन कात्तिक २४ गते सूचना निकालेको थियो ।

तोकिएको समय १० दिनभित्र स्थानीयले अवैध संरचना नहटाएपछि महानगर प्रहरी डोजरसहित सुकुम्बासी बस्तीमा पुगेको थियो । महानगरका सह–प्रवक्ता महेशकुमार काफ्लेका अनुसार महानगरकाे नीति अनुसार नै अगाडि बढ्ने र यसबारेमा आज थप छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया