निगमको जहाजको ‘इन्जिन स्टार्ट’ नभएपछि मुम्बई जाने १५२ यात्रु अलपत्र

पालिका डायरी
११ मंसिर २०७९, १४:४४
निगमको जहाजको ‘इन्जिन स्टार्ट’ नभएपछि मुम्बई जाने १५२ यात्रु अलपत्र

काठमाडौ‍ं / इन्जिन स्टार्ट गर्न आवश्यक पर्ने एपीयू (एक्जिलरी पावर युनिट) को बिल्ड प्रेसरसम्बन्धी समस्या उत्पन्न भएपछि नेपाल वायुसेवा निगमले साढे ११ बजे मुम्बई पठाउनुपर्ने जहाजलाई निर्धारित समयमा उडाउन सकेन ।

जहाज समयमै नउड्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ५२ जना यात्रु अलपत्र परेका छन् । निगमको यात्रु सेवा विभागका एक उच्च अधिकारीका अनुसार मुम्बईका लागि तय गरिएको न्यारोबडी अल्फा किलो ह्विस्की विमानको इन्जिन स्टार्ट नभएपछि बाहिरबाट अर्को उपकरणको सहायताबाट इन्जिन स्टार्ट गर्नुपर्ने थियो । निगमकै ग्राउन्ड ह्यान्डलिङ विभागले एयर स्टार्ट युनिट (एएसयू) उपकरण लिएर जहाज स्टार्ट गर्न खोजेको तर उक्त उपकरण पनि बिग्रिएपछि जहाज उड्न नसकेको ती अधिकारीले बताए ।

‘हामीसँग दुईवटा एयर स्टार्ट युनिट थिए । एउटा बिग्रेर थन्किएको छ । अर्को पनि जीर्णै थियो । आज चलाउन खोजेको तर कामै गरेन,’ उक्त उडानमा रहेका एक अधिकृतले भने, ‘ग्राउन्ड ह्यान्डलिङ विभागको लापरबाही देखियो । अहिले कुनै विदेशी वायुसेवाको इन्जिनमा समस्या देखिएको भए के हुन्थ्यो ?’

एयर स्टार्ट युनिटको काम काम जहाजको एक्जिलरी पावर युनिट (एपीयू) ले काम नगर्दा बाहिरबाट इन्जिन स्टार्ट गराउन सहायता प्रदान गर्ने हो । निगमका एक निर्देशकका अनुसार अब निगमले दिल्लीबाट फर्किँदै गरेको अर्को न्यरोबडी मुम्बई पठाउने भएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार निगमको विमानस्थलमा रहेका कर्मचारीहरू यात्रुलाई भर्खरै दिल्लीबाट फर्किएको अर्को न्यारोबडी अल्फा किलो एक्सरेमा सार्ने तयारी गर्दै छन् ।

काठमाडौं-मुम्बई एकफर्ती साढे दुई घण्टाको उडान समय हो । उताबाट काठमाडौं फर्किने ९० हाराहारी यात्रु छन् ।

प्रतिक्रिया