हार्ने निश्चित भएपछि सञ्चारमन्त्रीले मतगणना कार्य अवरुद्ध पारे : कुसियत

पालिका डायरी
११ मंसिर २०७९
सुनसरी-४ मा सञ्चारमन्त्री कार्की ७५ मतले अघि

सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधि सभातर्फ नेकपा (एमाले) का उम्मेदवार जगदिशप्रसाद कुसियतले आफूले हार्ने निश्चित भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप लगाएका छन् ।

मन्त्री कार्कीले आफू हार्ने निश्चित भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिएको उनको जिकिर छ । सञ्चारमन्त्री कार्कीले शनिवार (हिजो) अपरान्ह धाँधली भएको भन्दै पुनः मतगणना गर्नुपर्ने माग राखेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलीय सहमति जुटाएर मतगणनाको कामलाई सुचारु गराउन आइतवार (आज बिहान) सर्वदलीय बैठक बोलाएको थियो ।

बैठकमा मन्त्री कार्कीले पुनः मतगणना हुनुपर्ने अडान राखेपछि अझै मतगणना कार्य अघि बढ्न सकेको छैन । एमाले उम्मेदवार कुसियतले भने बाँकी रहेको मत गणना कार्य तत्काल शुरु गर्न निर्वाचन आयोगसँग माग गरेको बताए । आफूहरुको सो अडान कानूनसम्मत भएको दाबी गर्दै उनले त्यसबाट पछि हट्न नसकिने पनि स्पष्ट पारे ।

‘मतगणना जहाँ रोकिएको छ, त्यसलाई सुचारु गरौँ । बाँकी रहेको मतगणना अविलम्व शुरु गरौँ । तर, माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूको भनाइ के हो भने अहिले निर्वाचन आयोगले गरेको मतगणना र उसले जुन सूचना प्रकाशित गरेको छ । त्यसलाई क्यान्सिल गरेर रि मतगणना गरौँ भनेर उहाँको जिकीर हो । त्यसैमा हाम्रो डिबेट चलिराखेको छ’, कुसियतले भने, ‘एमालेको कानूनसम्मत अडान हो । हामीले कानूनलाई हातमा लिन खोजेका छैनौँ । एमालेले स्पष्ट के भनेको छ भने कानूनमा के भन्छ ? जो मतगणना भयो । त्यसलाई छोडौं । बाँकी रहेको मतगणना शुरु गरौँ । उहाँले सायद मानसिक रुपमा हार स्वीकार गरी सक्नुभएको छ । म हारिरहेको छु, त्यो हारलाई कसरी बचाउने भनेर उहाँले बखेडा झिक्नुभएको मात्रै हो ।’

यता, मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षका उम्मेदवारहरुबीच सहमति जुटाएर मतगणना कार्य सुचारु गराउन पहल भइरहेको जनाएको छ ।

प्रतिक्रिया
Gyanendra_and_Jagdish_ts7Sxg4eDD