अघिल्लो पटक ९५ मतले हारेका कांग्रेसका सिंह यसपालि फराकिलो मतान्तरले विजयी

पालिका डायरी
७ मंसिर २०७९, ११:२३

गत निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ को (ख) को प्रदेशसभा सदस्यमा झिनो मतान्तरले पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार जनार्दन सिंह क्षेत्री यसपालि भने निर्वाचित भएका छन् ।

कांग्रेसका जिल्ला सभापतिसमेत रहेका सिंह यसपालि २ हजार ६ सयभन्दा बढी मतान्तरले प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । सिंह १० हजार १ सय ७२ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निकटतम प्रतिस्पर्धी जसपाकी उम्मेदवार डा. मधु गुप्तालाई २ हजार ६ सय ७६ मतको अन्तरले पराजित गर्दै सिंह प्रदेशसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए । सिंह १० हजार १७२ मतले विजयी हुदा उनका निकटतम प्रतिस्पर्धी डा. गुप्ताले ७ हजार ४ सय ९६ मत पाएकी छन् । यसअघि जितेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रहलाद गिरीले भने ६ हजार ५ सय ३ मत मात्रै पाएका छन् ।

२०७४ को निर्वाचनमा सिंह , पर्सा ३ (ख) कै प्रदेशसभा सदस्यमा तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार प्रहलाद गिरिसंग ९५ मतको झिनो मतान्तरले मात्रै पराजित हुन पुगेका थिए । त्यस बेला गिरि ६ हजार ३ सय ४५ मतका साथ विजयी हुदा सिंहले भने ६ हजार २ सय ५० मत पाएका थिए।

प्रतिक्रिया
janardan-shing-_20221123110348