सप्तकोशी प्रभावितले गाउँ छोड्न थाले, उद्धार र राहतमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणको निर्देशन

पालिका डायरी
१८ श्रावण २०७९, ११:०५

सप्तकोशी नदीमा पानीको बहाब बढेर भंगालो फुटेपछि प्रभावित क्षेत्रका बासिन्दाले गाउँ छोड्न थालेका छन् ।

बाढी बस्तीमा पस्न थालेपछि उदयपुरको बेलका नगरपालिकाका वडा नम्बर १, २, ८ र ९ का बासिन्दा सुरक्षित ठाउँमा जान थालेका हुन् । आज बिहान ४ बजेदेखि नदीले कटान गर्न थालेको हो । प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ । उदयपुर परराष्ट्रमन्त्री डा. नारायण खड्काको गृह जिल्ला पनि हो । गृहमन्त्री खाणले सप्तकोशीको कटानबारे परराष्ट्रमन्त्री खड्कासँग पनि छलफल गर्नुभएको छ ।

कटानबाट प्रभावित हुने बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ । कटानले सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचमा प्रभावित बनाएको छ । अहिले जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक ठाउँ र आफन्तकोमा पठाउने काम भइरहेको छ । बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार अहिले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको विपद् व्यवस्थापन टोलीले प्रभावितको उद्धार गरिरहेको छ ।

नगरपालिकाले दुई दिनयता ती क्षेत्रका नागरिकलाई सुरक्षित स्थानतर्फ जानका लागि सूचना प्रवाह गरेको पनि मेयर अशोक कार्कीले बताउनुभयो । अहिलेको अवस्थामा नदीले धारै परिर्वतन गरेमा छिमेकी सप्तरी जिल्लाको सप्तकोसी र कन्चनरुप नगरपालिकाका साथै सुनसरीमा समेत क्षति पुग्ने अनुमान छ ।

प्रतिक्रिया