महिला सीप विकासले देशैभर गृहिणी शिक्षा लागु गर्न मकवानपुरमा १० दिने अभियान संचालन गर्ने

पालिका डायरी
१२ श्रावण २०७९, १४:४६

हेटौंडा / महिला सीप विकास केन्द्र,मकवानपुरले देशभर गृहिणी शिक्षा लागु गर्न तथा भ्रष्ट्रचार अन्त्यको लागि १० दिने सडक अभियान गर्ने भएको छ । आज न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै केन्द्रको अध्यक्ष रिता खनालले देशभर गृहिणी शिक्षा लागु गर्न र पछिल्लो समयमा देशमा बढीरहेको बेथिति,भ्रष्टाचार,कुशासन विरुद्ध अभियान संचालन गर्न लागिएको बताईन् ।

उनले आफुहरुले यसअघि,२०६३ सालमा जिल्लाभर गृहणी शिक्षा आन्दोलन र सहकारी अभियान संचालन गरेपछि तत्कालिन समयमा सरकारले वैकल्पिक शिक्षा प्रणालीको रुपमा ग्रहण गरेको बताउँदै पुनः संचालन गर्न लागिएको गृहणी शिक्षा अभियान सफल हुनेमा विश्वास व्यक्त गरिन् । उनले महिला शिक्षालाई पुनः स्थानीय तहले लागु गर्नुपर्ने बताईन् । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खनालले जनताले थेग्नै नसक्ने अनावश्यक प्रदेश तह संविधानबाट संशोधन गर्दै तत्काल खारेज गर्नुपर्ने र आफुहरुको अबको अभियान पनि नागरिक तहसम्म पुगेर प्रदेश तह खारेज गर्न तर्फ रहने बताईन् । उनले देशको आर्थिक अवस्था श्रिलंका पथ तर्फ गईरहेको बताउँदै बेलैमा नागरिक समाज जाग्नुपर्ने बताईन् ।

‘हामीले देखिरहेका छौ,श्रिलंकाको अवस्था । आज त्यहाँका नागरिकहरु सडकमै उत्रिएर राजपक्षको सरकारलाई विस्थापित गर्यो । खनालले भनिन्,आज नेपालीहरु श्रिलंका बन्नुपर्ने हो कि ? रातारात सर्विया जस्तो १० औं लाख नेपालीहरु एकाएक बाहिरिनु पर्ने हो कि ? अफगानस्थानको हालत पनि देखिएको छ। जोलन्त चाई अहिले श्रिलंकाको देखिएको छ । त्यसैले श्रिलंका बनिसकेपछि पछाडी सडकमा उत्रिनु भन्दा श्रिलंका बन्नु भन्दा अगाडी किन नेपाली नागरिक नजाग्ने ? हामी नबोले कस्ले बोल्ने ? आहिले नबोले कहिले बोल्ने? भनेर तमाम नागरिकहरु आवजलाई लिएर महिला सीप विकास सडकमा छ ।’

उनले देशको कार्यापालिका,न्यायपालिका,व्यवस्थापिका तीनै क्षेत्र भ्रष्ट्राचारमा लिप्त रहेको आरोप लगाईन् । उनले अभियान अन्तर्गत पहिलो चरणमा १० दिनको आन्दोलन अभियान हटौंडाबाट पर्चा वितरण सुरु गरिने बताईन् । साउन २१ गते सम्म जारी रहेन अभियानमा बजार,सडक,गाउँ,चोक चोकमा माईकिङ गर्ने,कोणसभा गर्ने,नागरिक समाजहरुसंग अन्तरक्रिया गर्ने र स्थानीयतहरुलाई ध्यानाकषर्ण पत्र दिने कार्यक्रम रहने अध्यक्ष खनालको भनाई छ ।

प्रतिक्रिया