कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको चीनको वुहानमा फेरि लकडाउन

पालिका डायरी
१२ श्रावण २०७९
कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको चीनको वुहानमा फेरि लकडाउन

कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको चीनको वुहानमा फेरि लकडाउन गरिएको छ ।

वुहानको जियाङ्सीयामा चार जनामा कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ । चीनले कोभिडमा ‘शून्य’ नीति लागू गर्दै आएको छ ।

सङ्क्रमण देखिएका ठाउँमा कडा नियम लागू गरिन्छ । जसमा सामूहिक परीक्षण, आइसोलेशन तथा नियमको पालना र लकडाउन समावेश छन् । लगातारजसो भइरहने प्रतिबन्धका कारण जनजीवन प्रभावित बन्दै आएको छ । वुहानको जनसङ्ख्या १ करोड २० लाख छ ।

सन् २०१९ डिसेम्बरमा वुहानमा कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेका थिए । अहिले विश्वभर झन्डै ५८ करोड नागरिक सङ्क्रमित भएका छन् । तीमध्ये ५४ करोड ८६ लाख निको भएका छन् । ६४ लाख १० हजारभन्दा धेरै मानिसले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

यसैबीच भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दक्षिण कोरियामा पनि एक लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । मलेसियामा पनि कोरोनाका बिरामी बढेका छन् । मलेसियाको पछिल्लो विवरण अनुसार विभिन्न भागमा गरी चार हजार सात सय नयाँ बिरामी थपिएका छन् ।

प्रतिक्रिया