‘नेपाल समाजवादी पार्टी’काे अध्यक्ष बन्दै डा. बाबुराम भट्टराई

पालिका डायरी
९ श्रावण २०७९
खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो : बाबुराम

जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएका डा. बाबुराम भट्टराईकाे पार्टीकाे नाम ‘नेपाल समाजवादी पार्टी’ हुने भएकाे छ । बाबुरामले यसअघि फागुनमा दीपक लामिछानेकाे अध्यक्षतामा निर्वाचन आयाेगमा दर्ता भएकाे ‘समावेशी लाेकतान्त्रिक पार्टी’ कै नाम ‘नेपाल समाजवादी पार्टी’ राख्न लागिएकाे हाे । पार्टीकाे चुनाव चिह्न आँखा राखिएकाे छ ।

 

पार्टीकाे अध्यक्षमा बाबुराम चुनिने उनीनिकट एक नेताले मकालुखबरलाई बताए । उनले भनेका छन्, ‘हामी कानूनी प्रक्रियाबारे जानकारी लिने काम गरिरहेका छाैँ । अब २/३ दिनभित्रै हामी यसबारे टुङ्गाे लगाउँछाैँ । अध्यक्षमा चाहिँ उहाँ अगुवा पनि हुनुभयाे, पूर्वप्रधानमन्त्रीसमेत हुनुहुन्छ । यस्ताेमा उहाँ डा.साप नै रहनुहुन्छ ।’

त्यसका लागि विधान परिवर्तनकाे कामसमेत सुरुवात भएकाे उनले बताएका छन् । ‘नयाँ पार्टी बनाउनलाई बढी झन्झटिलाे हुने भएकाले पनि यसअघि नै बनेकाे पार्टीलाई उपयाेग गर्ने हाम्राे अभिप्राय हाे । यसकाे विधान परिवर्तनकाे कामसमेत शुरू भएकाे छ । यसपछि अध्यक्षमा डा. साप आउनुहुन्छ,’ उनले भनेका छन् ।

माओवादीबाट अलग भएर बाबुरामले २०७४ को निर्वाचनमा नयाँ शक्तिबाट आँखा चुनाव चिह्न लिएर गोरखाबाट चुनाव लडेका थिए । त्यही आँखा चिह्न लिएर बाबुरामकै निर्देशनमा समावेशी लाेकतान्त्रिक पार्टी निर्वाचन आयाेगमा दर्ता भएकाे थियाे । बाबुरामले त्यही पार्टीलाई उपयाेग गर्दैछन् ।

यसअघि एमाले फुटाएर नयाँ पार्टी बनाएका माधवकुमार नेपालले पनि साेही विधि अपनाएका थिए । उनले निर्वाचन आयाेगमा कलम चिह्न राखेर जीवन राईकाे नाममा दर्ता भएकाे पार्टीलाई आफ्नाे पार्टी बनाएका हुन् ।

‘समाजवादी केन्द्र चाँडै बन्ने’
ती नेताले भनेका छन्, ‘नेपाल समाजवादी पार्टी पूर्णरूपमा बनिसकेपछि समाजवादी केन्द्रकाे काम तीव्ररूपमा गर्ने हाम्राे उद्देश्य छ ।’

त्यसाे त यसअघि नै माओवादी केन्द्रका नेता वर्षमान पुनले समाजवादी बन्ने सहमति बनिसकेकाे बताएका छन् । सहमति बनेअनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी र अब बन्ने नेपाल समाजवादी पार्टी मिलेर समाजवादी केन्द्र बन्नेछ । त्यसका लागि आफूहरू तयार रहेकाे बाबुरामनिकट ती नेता बताउँछन् । ‘प्रस्तावक नै डासाप हुनुहुन्छ । हामी त तत्पर छाैँ त्यसका लागि,’ उनले भने, ‘अब चाँडै नै समाजवादी केन्द्र बन्छ ।’

प्रतिक्रिया