निष्प्रभावी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम : हेटौंडामा ८१ लाख बजेट फ्रिज, ३१ प्रतिशत मात्रै खर्च

पालिका डायरी
३ श्रावण २०७९, १४:२७
निष्प्रभावी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम : हेटौंडामा ८१ लाख बजेट फ्रिज, ३१ प्रतिशत मात्रै खर्च

सुनिता बिष्ट

हेटौंडा /  प्रधानमन्त्री रोजगार कार्यक्रम मकवानपुर जिल्लासँगै देशभर चलिरहेको छ । सरकारले यसलाई ठूलो उपलब्धीको रुपमा लिए पनि आम जनता भने यसबाट प्रत्यक्ष लाभान्वित भएको देखिएको छैन । रोजगारी सिर्जना गरेर जनताको जीवनस्तर माथि उकास्ने यसको उद्देश्य भए पनि यो कार्यक्रमको बजेटमा उपलब्धिमुलक काम सञ्चालन गर्न नसक्दा यसको प्रभावकारीता सन्तोषजनक छैन ।

बागमती प्रदेशकै राजधानी रहेको मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम ३१ प्रतिशत मात्रै खर्च भएको छ । संघिय सरकारबाट हेटौंडा उपमहानगरपालिकामा रोजगार कार्यक्रम सञ्चालनको लागि १ करोड १८ लाख रुपैंया प्राप्त गराएकोमा अपेक्षा अनुसारको काम नभएको पाइएको छ । ८१ लाख रुपैंया फ्रिज भएको छ । गत आर्थिक बर्ष २०७८÷०७९ मा कुल रकममध्ये ३७ लाख रुपैंया मात्रै खर्च भएको हेटौंडा उपमहानगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक बिजेन श्रेष्ठले बताए ।

गत आर्थिक बर्षको लागि आएको बजेटको ६३ प्रतिशत काम हुन नसकेको हो । सरकारले बेरोजगारी न्यून गर्ने उद्देश्यसहित ल्याएको कार्यक्रम प्रभावकारी हुन नसकेपछि उप महानगरपालिकाको लागि संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पठाएको ८१ लाख रुपैयाँ खर्च नभएपछि उक्त जनताले श्रम गरेर पाउने रकम फ्रिज भएको हो । उपमहानगरपालिकाको विकट वडाहरुमा यो योजनाका कामहरु व्यवस्थित तवरले सञ्चालन गर्न नसक्दा र स्थानीय तहको निर्वाचनको कारणले समेत सोचेजती योजनाहरु पूरा हुन नपाएकोे प्रधानमन्त्री रोजगार संयोजक श्रेष्ठले बताए ।

वडाहरुको समन्वयमा नागरिकहरुसँग सम्झौता भएका कामहरु पूरा गर्न नसकेको बताउँदै सम्झौता र लक्ष्य अनुसारको काम गर्न नसक्दा यो कार्यक्रम प्रभावकारी हुन नसकेको श्रेष्ठ स्वीकार गर्छन् । २ सय २९ जनालाई १ सय दिनको रोजगारी प्रदान गर्नको लागि संघिय सरकारले हेटौंडा उपमहानगरपालिकालाई उक्त रकम उपलब्ध गराएको थियो । तर प्रधानमन्त्री रोजगार कार्यक्रममा धेरै जनालाई सहभागिता गराउन नसक्दा ८१ लख रुपैंया खर्च हुन नसकेको हो । यो कार्यक्रममा सहभागिता जनाउनको लागि उपमहानगरपालिकाको ४ नम्बर वडा बाहेकका १८ वटा वडाका ८ सय ८५ जनाले फर्म भरेका थिए । जसमध्ये १ सय दिन एक जना लाभान्वित नागरिकले काम गर्न पाउनुपर्ने नियमावली रहेकोमा उपमहानगरको ११ नम्बर वडा र १३ नम्बर वडाका नागरिकहरुले १० दिन देखि ४० दिनसम्म काम गर्दा १२ लाख रुपैंयाको काम भएको हो । ११ नम्बर वडामा ५ लाख रुपैंया र १३ नम्बर वडामा यो योजना मार्फत ७ लाख रुपैंया बराबरको काम गरेको श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन नसकेको बताउँदै संयोजक श्रेष्ठ लक्ष्य अनुरुप काम गर्न नसकिएको स्विकार गरे ।

‘उपमहानगरको १, ७, ८, ११, १२, १३, १४, १६ र १८ नम्बर वडामा विभिन्न सार्वजनिक काम सञ्चालन गरेका थियौं । सडक मर्मत, ढल खन्ने, खोलामा बाँध बाँध्नको लागि जाली भर्ने लगाएतको कामहरु सञ्चालन गरिएको छ । तर दिनमा ५ सय ७७ रुपैंयामा काम गर्न आउने स्थानीयहरु नभएकै कारण पनि कतिपय वडाहरुले यो कार्यक्रमलाई प्रभावकारी बनाउन सकेका छैनन् । सम्झौता भएका कामहरु पनि पूरा नगरेको तथा सुरु नै नगरेको वडाहरु पनि छन् । त्यसकारणले. पनि ठुलो प्रतिशतको रकम जनताले प्राप्त गर्न सकेनन् र अत्यमा फ्रिज भयो,’ श्रेष्ठले भने ।
त्यसोत, आर्थिक बर्ष २०७७÷०७८ मा पनि हेटौंडा उपमहानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम लगभग २० प्रतिशत रकम मात्रै खर्च भएको थियो । रोजगार कार्यक्रम सञ्चालनको लागि १ करोड ४० लाख रुपैंया प्राप्त भएको रकममध्ये ४४ लाख रुपैंया मात्रै खर्च भएको थियो । बाँकी ९६ लाख रुपैयाँ खर्च गर्न नभएपछि संघीय सरकारको खातामा नै उक्त रकम फिर्ता गएको थियो ।

सरकारले देशमा आन्तरिक रोजगारीको क्षेत्र र दायरालाई विकास गरी श्रमको सम्मान गर्ने वातावरणको सिर्जना गर्ने तयारी गरेको छ । यस कार्यक्रममार्फत मुलुकभित्र नै उत्पादनशील रोजगारीका अवसरहरु सिर्जना गरी न्यूनतम रोजगारीको सुनिश्चितताको प्रत्याभूति गरिने सरकारले जनाएको छ । रोजगारी दिन नसकेको अवस्थामा त्यस्तो परिवारलाई बेरोजगारी भत्तासमेत दिने सरकारको तयारी छ । बेरोजगार व्यक्तिले आफ्नो वडा कार्यालयमा दर्ता गरेको निवेदनका गाउँपालिका वा नगरपालिकाको निर्णयअनुसार उक्त व्यक्तिलाई रोजगार व्यवस्थापन प्रणालीमा सूचीकरण गरिने व्यवस्था छ । सूचिकृत भएका बेरोजगार व्यक्तिलाई सरकारले एक आर्थिक वर्षको अवधिमा १ सय दिनको न्यूनतम रोजगारीको सूनिश्चितता गर्ने समेत उल्लेख गरेको छ । तर हेटौंडा उपमहानगरपालिकामा गत आर्थिक बर्षमा १९ वटा वडा रहेकोमा जम्मा ११ वटा वडाहरुमा मात्रै यो कार्यक्रम सञ्चालन हेटौंडा उपमहानगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक बिजेन श्रेष्ठले बताए ।

 

प्रतिक्रिया