वृन्दावन वनस्पति उद्यानमा प्रवेश शुल्क कार्यान्वयनमा

पालिका डायरी
२५ असार २०७९, २१:५१
हेटौंडा

हेटौंडा / वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरले व्यवस्थापन गर्दै आइरहेका दुई वनस्पति उद्यानहरुमा टिकेटिङ्ग शुरुवात भएको छ । यस अनुसन्धान केन्द्र अन्तर्गत वृन्दावन वनस्पति उद्यान, हेटौंडा, पर्वतीय वनस्पति उद्यान, दामन र टिस्टुङ्ग वनस्पति उद्यान, टिस्टुङ्गगरी जम्मा तीन वटा वनस्पति उद्यानहरु रहेका छन् । जसमध्ये वृन्दावन वनस्पति उद्यान, हेटौंडा, पर्वतीय वनस्पति उद्यान, दामनमा टिकेटिङ्गको प्रावधान वन नियमावली २०७९ मा रहेको छ ।

यसको कार्यान्वयनको सिलसिलामा वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरले हेटौंडा उपमहानगरपालिका १३ का वडा सदस्यहरुउत्तम बोम्जा र दावा लामा ज्यू, वनस्पतिका विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरु, स्थानीय सामुदायीक प्रहरीका इन्चार्ज, वनस्पति विभागका वैज्ञानिक अधिकृत कृष्णराम भट्टराई लगायतको उपस्थितिमा उक्त प्रावधानको सहज कार्यान्वयनको लागि सचेतनामुलक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम वनस्पति अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीको अध्यक्षतामा भएको थियो ।
केन्द्रकी वैज्ञानिक अधिकृत चन्द्रकला ठाकुरले नियमावलीमा रहेका प्रावधानवारे जानकारी दिलाउनुभएको थियो । वडाध्यक्षद्दयले उद्यानमा भएको प्रवेश शुल्कको विषयले यस स्थानको महत्व बढेको र यसको सही व्यवस्थापनमा टोलबासी र वडाले सक्दो सहयोग गर्ने कुरा बताए । उनीहरुले वनस्पति उद्यानले सरसफाइ, शौचालयको पनि उचित प्रबन्ध गर्दै जानुपर्ने विषय पनि थप गरेका थिए । वैज्ञानिक अधिकृत कृष्णराम भट्टराईले वनस्पति उद्यानहरुमा टिकेटिङ्ग शुरुवात सुनौलो अवसर भएकोले स्थानीयहरुको प्रभावकारी कार्यान्वयनमा सकारात्मक भूमिकाले उद्यानहरुलाई अझ बढी आकर्षक बनाउने र पर्यापर्टनमा अभिवृद्धि गराउने कुरामा जोड दिए ।

वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले वनस्पति उद्यानहरुमा भएको उद्यान प्रवेश तथा अन्य शुल्कको कार्यान्वयन अपरिहार्य भएकोले यसमा स्थानीयहरुको सहयोग, समन्वय र सहकार्य भइरहने विश्वास व्यक्त गरे । वृन्दावन वनस्पति उद्यानमा स्थानीय र भ्रमणकर्ताहरुको अपनत्व बढाउनको लागि करिब एक वर्ष अगाडि शुरु गरिएको सेरेमोनियल प्लान्टेसन पनि नियमावलीमा सम्बोधन भइ आएकोले सही कामको थालनी गर्न सके वैधानिकता पनि पाइने बताए । एकैसाथ वृन्दावन वनस्पति उद्यान, हेटौंडा र पर्वतीय वनस्पति उद्यान, दामनमा टिकेटिङ्गको प्रावधान आएकाले कार्यान्वयनको लागि केन्द्रका कर्मचारीहरु पनि बढी जिम्मेवारी र दायीत्वबोधका साथ लाग्नुपर्ने पराजुलीले बताए ।

 

प्रतिक्रिया