बोरामा बाँधिएको अवस्थामा भेटियो एक जनाको शव

पालिका डायरी
१३ असार २०७९, १२:१६
बोरामा बाँधिएको अवस्थामा भेटियो एक जनाको शव

झापाको अर्जुनधारामा कल्भर्ट मुनी बोरामा बाँधिएको अवस्थामा एक जनाको शव फेला परेको छ । अर्जुनधारा नगरपालिका–४ स्थित कल्भर्टको ह्युमपाइप भित्र सोमबार विहान शव फेला परेको हो । बस्तीमा दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेर हेर्दा शव फेला परेको प्रहरीले जनाएको छ ।

शवलाई बोरामा हाली बोराको मुख सिलाएर फालेको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए । मृतकको पहिचान हुन सकेको छैन ।

मृतकको पाखुरामा आरएन लेखिएको टाटु रहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताए । शव सड्ने अवस्थामा भेटिएका कारण सनाखत हुन समस्या भएको हो । मृतकको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनले बोराबाट शव निकालेर पोस्टमार्टमको लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको बताए ।

प्रतिक्रिया