बकैयामा अध्यक्ष संग युवा कृषि उद्यमशिलता अभिमुखीकरण

पालिका डायरी
५ असार २०७९, २०:५७

हेटौंडा / मकवानपुरको बकैया गाउँपालिकामा अध्यक्ष संग युवा कृषि उद्यमशिलता विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम भएको छ ।

बकैया ३ हात्तीसुँडे आधारभूत स्वास्थ्य केन्द्रको सभाहलमा समृद्ध बकैया निर्माणको मुल आधारः स्वास्थ्य, शिक्षा, कृषि र वातावरणमैत्री पूर्वाधार भन्ने मुल नाराका साथ कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले कृषिमा बकैया गाउँपालिकालाई आत्मनिर्भर बनाउन आगामी नीति तथा योजनामा कृषिलाई प्राथमिकता दिने बताएका छन । उनले युवा र कृषिलाई जोड्न पालिकाले काम गर्ने बताए । युवालाई उद्यमशील बनाउन उत्प्रेरणामुलक कार्यक्रम ल्याई कृषिमा आकर्षित गर्ने र बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्ने जिकिर गरे ।
त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न यु्वाहरुलाई आग्रह गरे । उनले युवालाई स्वरोजगार बन्न र उद्यमशीलता तर्फ लाग्नुपर्नेमा जोड दिए ।

प्रस्तावित बकैया जेसीजका संस्थापक अध्यक्ष रमेश फुँयालले कार्यक्रमको लक्ष्य तथा उद्देश्यबारे प्रकाश पारेका थिए । बकैया गाउँपालिकाको आयोजना तथा प्रस्तावित बकैया जेसीजको समन्वयमा कार्यक्रम संचालन भएको थियो । अभिमुखीकरण कार्यक्रम असारको ४ र ५ गते दुई दिन संचालन भएको थियो । कार्यक्रममा बकैया गाउँपालिकाका १२ वटै वडाका करिव २ सय युवाहरुको सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा बरिष्ठ कृषि बिज्ञ तथा तालिम प्रदायक बलराम श्रेष्ठले प्रशिक्षण दिएका थिए । कार्यक्रममा बकैया गाउँपालिकाका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया