चार वर्षको विश्रामपछि २०२३ मा शाहरुखका तीन फिल्म आउँदै

पालिका डायरी
२३ जेष्ठ २०७९
चार वर्षको विश्रामपछि २०२३ मा शाहरुखका तीन फिल्म आउँदै

सन् २०१८ को डिसेम्बरमा प्रदर्शनमा आएको ‘जिरो’ पछि बलिउड अभिनेता शाहरुख खानको कुनै पनि फिल्म प्रदर्शनमा आएको छैन। तीन दशक लामो करिअरमा यो शाहरुखको सबैभन्दा लामो विश्राम हो।

अर्को वर्ष भने शाहरुखका तीन वटा फिल्म प्रदर्शनमा आउँदैछन्। उनको कमब्याक फिल्म ‘पठान’ सहित ‘डंकी’ र ‘जवान’ निर्माणको चरणमा रहेका फिल्म हुन्। जसमध्ये ‘पठान’को अन्तिम चरणको काम बाँकी छ भने ‘जवान’ छायांकनको क्रममा छ र डंकीको प्रि प्रोडक्सनको काम भइरहको छ।

तीन वटै फिल्म ठूलो बजेटका फिल्म हुन्। ‘डंकी’ बाहेक ‘पठान’ र ‘जवान’ एक्सन ड्रामा जनराका फिल्म हुन्। लामो समयदेखि पर्दामा नदेखिएकाले शाहरुखका फ्यानहरू वर्ष २०२३ को प्रतीक्षामा छन्। तीन वटै फिल्मको औपचारिक घोषणा सहितको टिजर सार्वजनिक भइसकेका छन्।

सिद्धार्थ आनन्दको लेखन तथा निर्देशनमा बनेको ‘पठान’ आगामी जनवरी २५ देखि प्रदर्शनमा आउँदैछ। फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। यी बाहेक फिल्ममा सलमान खानको पनि केमियो अपियरेन्स रहनेछ। फिल्म हिन्दीसँगै तमिल र तेलुगु भाषामा पनि प्रदर्शनमा आउनेछ।​

एटलीको लेखन तथा निर्देशनमा बनेको एक्सन फिल्म ‘जवान’मा शाहरुखसँगै नयनतारा, सान्या मल्होत्रा, सुनील ग्रोवर लगायतका कलाकारको मुख्य भूमिका रहनेछ। सय करोड माथिको बजेट रहेको याे फिल्म अर्को वर्ष जुन २ देखि प्रदर्शनमा आउँदैछ।

राजकुमार हिरानीको लेखन तथा निर्देशनमा बन्ने अर्काे फिल्म ‘डंकी’मा शाहरुखसँगै तापसी पन्नुको पनि मुख्य भूमिका रहनेछ। जियो स्टुडियोज, रेड चिलीज इन्टरटेन्मेन्ट र राजकुमार हिरानी फिल्म्सले संयुक्त रुपमा निर्माण गरेको कमेडी ड्रामा फिल्म अर्को वर्ष डिसेम्बर २२ मा प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया