राप्रपाले महंगी र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने, ज्ञानेन्द्र शाहीलाई सदस्यको जिम्मेवारी

पालिका डायरी
१९ जेष्ठ २०७९, १५:५६
सडक निर्माणबारे बोल्यो राप्रपा – ‘कालापानी हाम्रो हो, सरकारले भारतलाई प्रतिवाद गर्नैपर्छ’ file photo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमिति बैठकले महंगी र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

जनजीविकाका सवालमा आन्दोलन गर्न बुद्धिमान तामाङको संयोजकत्वमा परिचालन समिति गठन गरिएको छ । समितिमा धवलशमशेर राणा, कुन्तीकुमारी शाही, गोपाल दाहाल, ज्ञानेन्द्र शाही सदस्य रहेका छन् ।

बैठकले भदौ मसान्तभित्र सबै जनवर्गीय संगठनहरूको महाधिवेशन सम्पन्न गर्ने गरी कार्ययोजना तयार गर्न संगठन विभागलाई जिम्मेवारी दिएको छ ।

स्थानीय तह चुनावमा २/२ गठबन्धनका बाबजुद राप्रपाले एक्लै पाएको मतले पार्टी उत्साहित भएको जनाइएको छ । स्थानीय चुनावको परिणाम र लोकप्रिय जनमतको जगमा प्रदेश र संघ निर्वाचनको तयारी गर्ने निर्णय बैठकले गरेको छ ।

राप्रपाले पूर्ण समानुपातिक संसद, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने शासकीय स्वरूप हुनुपर्ने निर्णय गरेको छ । राप्रपाले ३ तहको संघीयता नभई केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था हुनुपर्ने जनाएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा भएको बैठकमा पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको समेत उपस्थिति थियो ।

 

प्रतिक्रिया