बजेट प्राथमिकतामै परेन सुदूरपश्चिम

पालिका डायरी
१८ जेष्ठ २०७९, ११:५१

कैलाली र कञ्चनपुरमा फाट्टफुट्ट योजना परे पनि पहाडी जिल्लामा भने कुनै विशेष योजना छैन
जेष्ठ १८, २०७९अर्जुन शाह, भवानी भट्ट

धनगढी‚ कञ्चनपुर — आगामी आर्थिक वर्षका लागि संघ सरकारद्वारा आइतबार प्रस्तुत आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमा सुदूरपश्चिममा अपेक्षित दिगो विकास र गरिबी निवारणका आयोजनाले प्राथमिकता नपाउँदा यस क्षेत्रका बासिन्दा निराश छन् । साझा कार्यक्रमबाहेक बजेट वक्तव्यमा सुदूरपश्चिमका ९ मध्ये अधिकांश जिल्लामा प्राथमिकताका योजना छैनन् र जिल्लाको नामसमेत उल्लेख छैन ।

कैलाली र कञ्चनपुरमा फाट्टफुट्ट योजना परेका भए पनि पहाडी जिल्लामा भने कुनै विशेष योजना उल्लेख छैन । कैलालीको अत्तरियामा जडीबुटी प्रशोधन केन्द्र स्थापना, कैलालीकै हरैयामा आर्थिक क्षेत्र निर्माण प्रारम्भ गर्ने भनिएको छ । बझाङमा फस्फोराइटको खानीमा फस्फोरस मल उत्पादनको सम्भाव्यता अध्ययन गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

पर्यटन विकासअन्तर्गत सुदूरपश्चिममा सात देवीहरू डिलासैनी, निङ्लासैनी, मेलौली, शैलेश्वरी, बडिमालिका, उग्रतारा, त्रिपुरासुन्दरीलाई पर्यटकीय स्थलका रूपमा प्रवर्द्धन गर्ने, धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास, डडेलधुरा विमानस्थलको स्तरोन्नति गरी सञ्चालनमा ल्याइने भनिएको छ । तर डडेधलुरामा विमानस्थल निर्माण कार्य सुरु नै भएको छैन ।

स्वास्थ्य पूर्वाधारअन्तर्गत कैलालीको लम्कीमा ट्रमा सेन्टर स्थापना, डडेलधुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाइने, गेटा मेडिकल कलेजलाई सेती र महाकाली प्रादेशिक अस्पतालको सहकार्यमा सम्बन्धित विश्वविद्यालयको सहकार्यमा मेडिकल कलेज सञ्चालनको व्यवस्था मिलाउने उल्लेख छ । गेटा मेडिकल सञ्चालनका सम्बन्धमा बजेट वक्तव्यमा उल्लेख गरिएको व्यवस्थाप्रति यस क्षेत्रका अगुवाहरू असन्तुष्ट छन् । खेलकुद विकासअन्तर्गत उल्लेखित धनगढीको फाप्लामा अन्तराष्ट्रिय मापदण्डअनुसारको क्रिकेट रंगशाला तथा खेलग्रामको निर्माण गरिने कुरालाई खेल क्षेत्रले प्रशंसा गरेको छ । सिँचाइ तथा जलविद्युत् विकासअन्तर्गत ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेतीको प्राविधिक तयारी गरी निर्माण कार्य अघि बढाइने भनिएको छ । कैलालीस्थित रानी जमरा कलरिया सिँचाइ आयोजनका लागि २ अर्ब ९० करोड विनियोजन गरिएको छ । सहरी विकास कार्यक्रमअन्तर्गत कञ्चनपुरस्थित बेलौरी र चाँदनी दोधारामा सीमा क्षेत्र सहरी विकास कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । यस्तै कैलालीको खुटिया नदीमा सहरी नदी करिडोरको अवधारणअनुरूप तटबनध निर्माण र बस्ती संरक्षण कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यसबाहेक हरेक प्रदेशमा एउटा कोल्ड स्टोर स्थापना गर्ने योजना सुदूरपश्चिममा पनि पर्ने उल्लेख छ ।

‘बजेट वक्तव्यमा सुदूरपश्चिमले पाउनुपर्ने प्राथमिकता नपाएको देखियो,’ कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक रोजेन्द्रवीर चन्दले भने, ‘अधिकांश योजनाहरू नयाँभन्दा पनि निरन्तर आयोजना छन् । फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने, नयाँ उद्योगीलाई कर छुट र मेडिकल कलेजको कुरा भने राम्रो छ ।’

ठूला आयोजना ठोस रूपमा समेटिएनन्

बजेटमा कञ्चनपुरका ठूला आयोजनाहरू समावेश भएका छन् । दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणदेखि महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुलको निर्माण सक्ने लगायतका योजना समावेश भएका छन् । महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत ब्रह्मदेव क्षेत्रमा २९ सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले शाखा नहर निर्माण गरिने र बेदकोट नगरपालिकाको दैजीमा औद्योगिक क्षेत्र निर्माण गरिने पनि वजेटमा उल्लेख छ ।

बजेटले पुराना आयोजना समेटे पनि ठोस रूपमा बजेट नआएको यहाँका उद्योगी व्यवसायीहरूले बताएका छन् । दोधारा चाँदनी सुख्खा बन्दरगाहको कुरा उठेको एक दशकभन्दा बढी भइसक्यो । यसको सम्भाव्यता अध्ययन पनि भइरहेको छ । ‘बजेटमा फेरि पनि सम्भाव्यता अध्ययन नै भनिएको छ, अब त काम सुरु गर्नुपर्ने बेला हो,’ कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले भने, ‘दैजी औद्योगिक क्षेत्रका विषयमा अमूर्त कुरा नै आएको छ ।’

बजेटमा महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम यसै वर्ष सक्ने गरी ४१ करोड विनियोजन गरिएको उल्लेख छ । यसैगरी महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत ब्रह्मदेव खण्डमा शाखा नहर निर्माणका लागि १ अर्ब ५१ करोड विनियोजन गरिएको उल्लेख छ । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरणका लागि भने गत वर्षभन्दा बढी बजेट विनियोजन भएको छ । गत वर्ष १ अर्ब १७ करोड बजेट विनियोजन भएको थियो । यस वर्ष १ अर्ब ५२ करोड विनियोजन भएको छ । जुन ब्रह्मदेव खण्डमा शाखा नहर निर्माणका लागि छुट्याइएको हो ।

प्रतिक्रिया
Budget_3_DSFRmK3xal