अर्थमन्त्री शर्माले आज प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश गर्दै छन् । उनले आज आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश गर्न लागेका हुन् ।
अर्थमन्त्री शर्माले हिजो शुक्रवारका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको थियो । तर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण पेश हुन सकेको थिएन ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यही व्यवस्था अनुसार नै अर्थमन्त्री शर्माले आर्थिक सर्वेक्षण पेश गर्न लागेका हुन् ।
भोली आइतवार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आगामी आवको बजेट पेश गर्ने भएका छन् । उनले आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्न लागेका हुन् ।
जेठ १५ गते बजेट ल्याउने संविधानमा नै व्यवस्था गरिएको छ । त्यही व्यवस्था अनुसार नै भोली अर्थमन्त्री शर्माले दुवै सदनमा बजेट पेश गर्न लागिएको हो ।