स्थानीय तह निर्वाचन : दोहोरिन चाहेका मध्ये ३ जना निर्वाचित

पालिका डायरी
१३ जेष्ठ २०७९, २०:२२

सुनिता बिष्ट 

हेटौंडा / स्थानीय तह निर्वाचन ०७९ अन्तर्गत मकवानपुर जिल्लाको तीनवटा गाउँपालिकाको नेतृत्वमा पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । मकवानपुरको बागमती, भीमफेदी र राक्सिराङ गाउँपालिकामा पुरानै नेतृत्व दोहोरिएका हुन् । बागमतीमा माओवादीका सर्केश घलान, भीमफेदीमा एमालेका हिदम लामा र राक्सिराङमा कांग्रेसका राजकुमार मल्लले दोस्रो कार्यकालको लागि नेतृत्व गर्ने अवसर पाएका हन् ।

मकवानपुरको १० स्थानीय तहमध्ये ६ वटा स्थानीय तहका प्रमुखहरुले दोहोरिने दाउमा उम्मेदवारी दर्ता गरेका थिए । जसमध्येबाट तीन जना पुनः पालिकाको नेतृत्वमा दोहोरिएका हुन् । बागमतीका घलानले एमालेका खेमराज जर्घा मगर, भीमफेदीका लामाले माओवादीका बद्रीबहादुर स्याङ्तान र राक्सिराङका मल्लले एमालेका बाबुलाल स्याङ्तालाई हराउँदै दोस्रो कार्यकालका लागि पनि जित निकालेका हन् । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र बकैया गाउँपालिका बाहेक सबै पालिकामा पुरानै नेतृत्वले दोहोर्याउने चाहना सहित उम्मेदवारी दिएका थिए ।
दोस्रो कार्यकालको नेतृत्व गर्ने इच्छासहित चुनाव लडेका मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती कांग्रेसका रञ्जन कालाखेती सँग पराजित भए ।

त्यसैगरी मकवानपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष विदुर हुमागाईं कांग्रेसका दोर्जे लामा स्याङ्तानसंग पराजित भए । अघिल्लो निर्वाचनमा हुमागाईंले स्याङ्तानलाई नै पराजित गरेका थिए । अघिल्लो चुनावमा एमालेबाट जिते पनि पार्टी विभाजनसँगै नेकपा (एकीकृत समाजवादी) मा लागेका कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले पनि हार व्यहोरे ।

यस्तै, इन्द्रसरोवर गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामा पनि यसपटक पराजित भए । अघिल्लोपटक एमालेबाट निर्वाचित उनी पार्टी विभाजनसँगै नेकपा एसतर्फ लागेका थिए । पहिले पाँच बर्षको कार्यकाल सम्हालेर पनि दोस्रो कार्यकालको लागि निर्वाचित पालिका प्रमुख भने तीन जना रहेका छन् ।

भीमफेदी
जिल्लाको भीमफेदी गाउँपालिका प्रमुखमा दोस्रो कार्यकालको लागि पनि हिदम लामाले नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकामा अध्यक्षमा एमालेका हिदम लामा विजयी भएका हुन् । लामा माओवादी केन्द्रका बद्रीबहादुर स्याङतानलाई हराउँदै अध्यक्षमा विजयी भएका हन् । एमालेका लामाले ५ हजार ५ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन् । माओवादीका स्याङ्तानले ५ हजार २ सय ९ मत प्राप्त गरे । लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

राक्सिराङ
मकवानपुरकोे राक्सीराङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजकुमार मल्ल विजयी भएर आफ्नो नेतृत्व दोहोराएका छन् । ५ हजार ४ सय ८१ मतसहित मल्ल दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । गाउँपालिकाको अध्यक्षका अर्काप्रत्यासी एमालेका बाबुलाल स्याङ्तानले ४ हजार ५ सय ७२ मत प्राप्त गरेका हुन् ।

बागमती
बागमती गाउँपालिकाकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार दिएका माओवादी केन्द्रका सर्केश घलान विजयी भएका हुन् । ७ हजार ३ सय ८४ मत प्राप्त गरी घलान दोस्रो कार्यकालको लागि निर्वाचित भएका हो । गाउँपालिकाको अर्का अध्यक्षका प्रत्यासी नेकपा एमालेका खेम जर्गामगरले ६ हजार १ सय ६६ मत प्राप्त गरेका हुन् । घलानले जर्गालाई १ हजार २ सय १८ मतान्तरले पराजित गरेर आफ्नो दोस्रो कार्यकाल सुनिश्चित गर्न सफल भएका हुन् ।

प्रतिक्रिया