मतदान भएको १२ दिनपछि उदयपुरको त्रियुगामा मतगणना हुँदै

पालिका डायरी
१० जेष्ठ २०७९
मतदान भएको १२ दिनपछि उदयपुरको त्रियुगामा मतगणना हुँदै

उदयपुरको त्रियुगा नगरपालिकामा मतदान भएको १२ दिनपछि आजबाट मतगणना सुरु हुने भएको छ । त्रियुगा नगरपालिका १२ को मतदान केन्द्रको विवादले रोकिएको मतगणना मंगलबारदेखि (आज) सुरु हुने भएको हो ।

मंगलबार विहान निर्वाचन आयोग काठमाडौंले मतगणना सुरु गर्न जिल्लाको मुख्य निर्वाचन कार्यालयलाई पत्र पठाएपछि मतगणना सुरु हुन लागेको निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले आयोगबाट मतगणना गर्न पत्रचार भएकाले बिहान १०ः३० वजेदेखि मतगणना सुरु गर्न लागिएको जानकारी दिए ।

उनले भने, ‘हामीले सबै दलका प्रतिनिधिहरुलाई फोन गरेर बोलाएका छौँ, सबैजना आउनु भएको छ । अब मतगणना सुरु हुन्छ ।’ मतदानको दिन अन्तिमम समयमा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।

उक्त मतदान केन्द्रको विवादले त्रियुगामा निर्वाचनका लागि सहभागी भएका दल तथा उम्मेदवारहरू पनि दुई समूहमा विभाजित भएका थिए । एक समूह पुनः मतदान गराउनुपर्ने र अर्को समूहले खसेको मतलाई आधार मानेर मतगणना सुरु हुनुपर्ने पक्षमा थिए ।

यता मतदानको दिन मतदान गर्न छुटेकाहरु पुनः मतदानको मग गर्दै अदालत पुगेका थिए । प्रदेश सांसद सुनीता चौधरीसहित त्रियुगा नगरपालिका–१२ का स्थानीयले पुनः मतदान गरिपाऊँ भनी उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उक्त रिटमा गत सोमबार उच्च अदालत विराटनगर कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश दिएको थियो ।

प्रतिक्रिया