पेट्रोलियम पदार्थमा बढेको मूल्य तत्काल फिर्ता लिन अनेरास्ववियुको माग

पालिका डायरी
९ जेष्ठ २०७९, १४:५१
पेट्रोलियम पदार्थमा बढेको मूल्य तत्काल फिर्ता लिन अनेरास्ववियुको माग

पेट्रोलियम पदार्थमा बढेको मूल्य फिर्ता गर्न नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन वीरगञ्जले माग गरेको छ । सरकार आयल निगम चुहावट नियन्त्रणलाई बेवास्ता गर्दै कर्मचारीलाई बोनस र भत्ता बाँड्न मस्त भएको अनेरास्ववियु वीरगञ्ज महानगर समितिका अध्यक्ष आशिफ अहमदले सोमबार निकालेको प्रेस विज्ञप्तिमा आरोप लगाइएको छ ।

जनताको ढाड सेक्ने गरी बढाइएको मूल्य तत्काल फिर्ता लिन माग गर्दै अनेरास्ववियु वीरगञ्ज महानगर समितिका अध्यक्ष अहमदले मूल्यवृद्विविरुद्ध निर्णायक आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रहसमेत गरेका छन् । अध्यक्ष अहमदद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह निर्वाचनको मसी सुक्न नपाउँदै जनतामारा सरकारले जनतालाई मूल्यवृद्धिको उपहार दिएको छ ।’

‘मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा नघटाई, सरकार विभिन्न कर लगाएर राजस्व उठाएर कमाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रणलाई बेवास्ता गरी कर्मचारीलाई बोनस र भत्ता बाँड्न मस्त छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै देशैभर अब अत्यावश्यक वस्तु तथा सेवाको ढुवानी र लागत भाडा महँगिने निश्चित छ’, विज्ञप्तिमा उल्लेख छ ।

सरकार आफ्ना कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर नाफा निकाल्ने उद्देश्य राखी जनतालाई दुःख दिन गरिएको मूल्यवृद्धिको कदमप्रति अध्यक्ष अहमदले खेद प्रकट गरेका छन् ।

आइतबार रातिबाट लागू हुने गरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय रुपैयाँले बढेको छ । अब उपभोक्ताले एक सिलिन्डरलाई १ हजार ८ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । निगमले पेट्रोलियमको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ । पेट्रोल अब प्रतिलिटर १ सय ८० र डिजेल÷मट्टितेल १ सय ६३ रुपैयाँ पर्ने निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

निगमले हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य पनि बढाएको छ । प्रतिलिटर १० रुपैयाँ बढाएर १ सय ६६ रुपैयाँ बनाइएको छ । हवाई इन्धन (बाह्य) अमेरिकी डलर १.५४५ बनाइएको छ ।

यसअघि, चैत २२ गते निगमले ग्यासको मूल्य बढाएर १ हजार ६ सय कायम गरेको थियो । पेट्रोलियम पदार्थको भाउ वैशाख ३१ गते लिटरमा १० रुपैयाँ बढाएको थियो । पेट्रोलियम पदार्थको कारोबारबाट घाटा बढेपछि निगम भाउ बढाउन बाध्य भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

प्रतिक्रिया