रक्सी खाएर मतदान अधिकृत, म्यादी र गाउँलेलाई कुट्ने सई पक्राउ

पालिका डायरी
२९ बैशाख २०७९, १७:००
१ एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

सुर्खेतको पञ्चपुरी नगरपालिकामा निर्वाचनका लागि खटिएका एकजना प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् । पञ्चपुरी नगरपालिका ७ धनबोटमा रहेको नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका वरिष्ठ सई प्रहरी नायब निरीक्षक नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत, सहायक मतदान अधिकृत र ड्युटीमा खटिएका म्यादी प्रहरीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट केन्द्रका मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमलासहित केही स्थानीय र म्यादी प्रहरीहरू सामान्य घाइते छन् ।

बुधबार राति उनले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका हुन् । कर्णाली प्रदेश प्रहरीका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीषक राजेशनाथ बास्तोलाका अनुसार ती प्रहरी अधिकृतले मादकपदार्थ सेवन गरी मतदान केन्द्रमा पुगेर कुटपिट गरेका थिए । निर्वाचनका बेला प्रहरी कर्मचारीबाटै अमानवीय व्यवहार भएकाले सई भट्टलाई कारबाहीको प्रक्रिया सुरू गरिएको एसएसपी बास्तोलाले बताए ।

निर्वाचनका बेला शान्ति सुरक्षामा खटिएका प्रहरी कर्मचारीबाटै यस्तो व्यवहार हुनु गलत हो, हामीले उनलाई नियन्त्रणमा लिइसकेका छौं,’ बास्तोलाले भने, ‘जिल्लामा ल्याउँदै छ, आवश्यकताअनुसार निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाउँछौं । सई भट्टलाई बिहीबार बिहान ३ बजेतिर प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । मदिरा सेवन गरेका वरिष्ठ सई भट्ट बुधबार राति ११ बजेतिर धनबोट गाउँ पसेका थिए । त्यहाँ चार जना स्थानीयको घरभित्र पसेर हतियार देखाउँदै उनले कुटपिट गरेको एक स्थानीयले बताए ।

राति गाउँलेबाट लखेटिएपछि प्रहरी र म्यादी प्रहरीले उनलाई उद्धार गरी मतदान अधिकृतलगायतका कर्मचारी सुतेको घरमा ल्याएका थिए । त्यहाँ पुगेपछि उनले सुरूमै मतदान अधिकृत र सहायक मतदान अधिकृतमाथि हातपात गरेका थिए ।

प्रतिक्रिया