कांग्रेसका बागी वडाध्यक्ष उम्मेदवार झुन्डिएको अवस्थामा फेला

पालिका डायरी
२४ बैशाख २०७९, १५:४२
कांग्रेसका बागी वडाध्यक्ष उम्मेदवार झुन्डिएको अवस्थामा फेला

नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष उम्मेदवार गणेशबहादुर पौडेल रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । नेपाली कांग्रेसबाट टिकट नदिएपछि बागी उठेका पौडेल आज बिहान मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले घर नजिकैको रुखमा झुन्डिरहेको अवस्थामा फेला परेको बताए । उनले मृतक पौडेलले आत्महत्या गरेको हुन सक्ने दाबी गरे ।

यता मृतककी श्रीमती विमला पौडेलले भने उम्मेदवारी फिर्ता लिन बारम्बार धम्की आउने गरेको र त्यसैको कारण यस्तो घटना घटेको बताइन् । नेपाली कांग्रेसबाट उक्त वडामा वडाध्यक्ष उठेका आधिकारिक उम्मेदवार अनिश कार्कीका खास मान्छे विनोद भुजेलले उम्मेदवारी फिर्ता लिन बारम्बार धम्की दिने गरेको मृतक पौडेलको परिवारका सदस्यहरुको बताउँछन् । मेगा बैंक इनरुवाको सेक्युरिटी गार्डको काम गर्ने भुजेलले बागी उम्मेदवार पौडेललाई चुनाव छाड नत्र जे पनि हुन सक्छ भनेर बारम्बार धम्की दिने गरेको परिवारका सदस्यहरुको भनाइ छ ।

भुजेलको लेमन होटलमा आउने भारतीय समूहसँग साँठगाँठ रहेको र पौडेललाई अपहरण गरी भारत पुर्याएर छाडिएको मृतकका परिवारका सदस्यहरु बताउँछन् । बैशाख २१ गते एकछिन इनरुवा जान्छु भनेर हिँडेको र भोलिपल्टसम्म नआएपछि अपहरणमा परेको भन्दै प्रहरीमा रिपोर्ट गरेका हौं । अपहरण गरेर भारत पुर्‍याई छाडेको रहेछ । त्यहाँबाट फिर्ता आएपछि झुम्काबट दिउँसो १ बजेतिर जिल्ला प्रहरी कार्यालय सुनसरीमा बयानका लागि भनेको भन्दै प्रहरीले लगेको हो । प्रहरीले के बयान लियो थाहा छैन ।’, मृतककी श्रीमती पौडेलले भनिन् । बयान दिएर घरमा आएपछि अब यो ठाउँमा बस्न उचित छैन भन्दै भुजेललगायतको नाम लिएको परिवारको भनाइ छ । प्रहरीले पनि यातना दिएको उनीहरूको आरोप छ ।

यता सुनसरी प्रहरी प्रमुख थापा भने परिवारले गरेको रिपोर्टका आधारमा पौडेललाई बोलाएको सोधपुछ गरेको दाबी गर्छन् । ‘परिवारले अपहरणका परेको भनेर निवेदन दिएपछि बोलाएर सोधपुछ गरेर छाडिएको हो । अरु केही भएको छैन ।’, उनले भने । भुजेलले काम गर्ने ठाउँमा लेमन होटल रहेको र उक्त होटलमा आउने भारतीयमुलका आपराधिक व्यक्तिहरूसँग मिलेर भुजेल र वडाध्यक्षका उम्मेदवारका केटाहरू मिलेर अपहरण गरेको परिवारका सदस्यहरूको आरोप छ । यो विषय प्रहरीसँगको मिलेमतोमा सुनसरीका कांग्रेस नेताहरूले ढाकछोप गर्न खोजिरहेको परिवारको सदस्यहरुको आरोप छ ।

प्रतिक्रिया