चितवनमा मतदाता संख्याभन्दा ९ प्रतिशत बढी मतपत्र

पालिका डायरी
२४ बैशाख २०७९, १२:०९
चितवनमा मतदाता संख्याभन्दा ९ प्रतिशत बढी मतपत्र

चितवनमा मतदाता संख्याभन्दा ९ प्रतिशत बढी मतपत्र पठाएको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मतपत्र आइपुगेको हो । शुक्रबार भरतपुर महानगरपालिकासहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जानकारी दिएको छ ।

भरतपुरको लागि ४१० बण्डल र भरतपुरबाहेक ६ पालिकाको लागि ४५८ बण्डल मतपत्र आएको हो । एउटा बण्डलमा ५०० वटा मतपत्र छन् । निर्वाचन आयोगले चितवनका मतदाताको संख्या भन्दा ९ दशमलब १३ प्रतिशत अर्थात ३६ हजार ३१५ बढी मतपत्र पठाएको हो । जिल्लामा मतदाताको संख्या तीन लाख ९७ हजार ६८५ रहेको छ ।

आयोगले आफ्नो नीति अनुसार नै मतदाताको संख्या भन्दा केहि बढी मतपत्र पठाएको चितवनका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए । ‘आयोगकै नीति अनुसार चितवनमा पनि केहि बढी मतपत्र आइपुगेको छ’, उनले भने । प्याकिङ भएर आएको मतपत्रको बण्डलभित्र प्रिन्ट बिग्रिएका र च्यातिएका मतपत्र पनि पर्ने भएकाले आयोगले करिब १० प्रतिशत बढी मतपत्र पठाउने गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।

प्रतिक्रिया