हेटौँडामा एमालेको १५ वर्षे बिरासत भत्काउन मेरो उम्मेदवारी : दीपक सिंह

पालिका डायरी
२४ बैशाख २०७९
हेटौँडामा एमालेको १५ वर्षे बिरासत भत्काउन मेरो उम्मेदवारी : दीपक सिंह

हेटौँडा / बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडामा उपमहानगरपालिका वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । मकवानपुरको १० वटा स्थानीय तहमध्ये हेटौँडा उपमहानगरपालिकाको मेयर को बन्ला भन्ने विषयको चर्चाको शिखरमा छ ।

हेटौँडाको मेयर पदमा सत्तारुढ पाँचदलीय राजनीतिक गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा, नेकपा एमालेका तर्फबाट अनन्त पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फका दीपक सिंह उम्मेदवार छन् । यीमध्ये अबको पाँच वर्षका लागि हेटौँडाको मेयरमा कसले बाजी मार्ला भन्ने सबैको चासोको विषय बनेको छ । पाँच राजनीतिक दलको साथ र समर्थनले मीना लामा बलियो रहेको एकथरी राजनीतिज्ञहरु बताउँछन् भने एमाले पनि बलियो शक्ति रहेकाले पौडेलले बाजी मार्लान् भन्ने अर्काथरीको अनुमान छ । त्यसो त, दीपक सिंहले राप्रपाबाट हेटौँडाको मेयरमा आफ्नो उम्मेदवारी दर्ता गराएपछि हेटौँडाको राजनीतिक माहोल झनै तातिएको छ । स्थानीय तथा संसदीय निर्वाचनमा तीनपटक पराजित भइसकेका सिंह यसपटक जसरी भए पनि जित्ने उद्देश्यका साथ मैदानमा उत्रिएका छन् ।

हेटौँडालाई भष्ट्राचारमुक्त र विकसित उपमहानगरपालिका बनाउने संकल्पका साथ आफूले मेयरमा उम्मेदवारी दिएको सिंहले बताउँदै आएका छन् । उनै सिंहसँग गरियको कुराकानी :

हेटौँडाको मेयरमा तपाईं​को उम्मेदवारी किन ?

हेटौँडाको मेयरमा मेरो उम्मेदवारी किन भन्दा जुन एमालेले १५ वर्षदेखि एकलौटी अर्बौंअर्ब रुपैयाँ सिध्याउँदा पनि कुनै काम भएन । जनतालाई ट्याक्समाथि ट्याक्स थुपारेर विकास निर्माणको नाममा सडक ढलान, नाली, भवन निर्माणबाहेक कुनै मास्टर योजना ल्याउन चाहना नै एमालेले गरेन । कार्यकर्ता भर्तीकेन्द्र जस्तो गरेर उपभोक्ता समिति बनाउँदै बजेट सकाउने मात्रै काम भयो । जनतालाई अनुभूति हुने कुनै पनि काम नभएको हुनाले अहिले उपमहानगरपालिकाका जनताले नयाँ अनुहार र इमानदार व्यक्तिको खोजीमा छन् । अहिले भइराखेका अनन्तजी (एमाले उम्मेदवार), लामा बहिनी (गठबन्धनकी उम्मेदवार)ले पटक–पटक पद पाए । अब मैले मेयरमा उम्मेदवारी दिनुपर्छ भन्ने राप्रपाका नेता तथा कार्यकर्ताको माग आएपछि विशेषगरी हेटौँडाको समग्र विकासकै लागि मैले आफ्नो उम्मेदवारी दिएको हुँ ।

अहिलेको परिस्थितिमा एमाले र गठबन्धनका उम्मेदवारलाई पराजित गर्न कम चुनौती त छैन नि ?

पक्कै पनि धेरै चुनौती छ । गठबन्धन, अहिले उहाँहरुको पदका लागि मात्रै गठबन्धन भएको हो । विचारले गठबन्धन भएको होइन । कांग्रेसको र कम्युनिस्टको विचार मिल्नै सक्दैन । यो गठबन्धन सरकार बचाएर मिलिजुली खाने गठबन्धन हो । अब आयो मलाई चुनौती छ कि छैन भन्ने कुरा, चुनौती त होला, तर गठबन्धनले मलाई हराउन सक्दैन । चुनौती भए पनि जित मेरै हुनेछ ।

राप्रपाबाट विभाजित भएका कमल थापा पक्षका राप्रपा नेपालका मतदाताले तपाईंलाई साथ देलान् ?

अहिले राप्रपा मात्रै होइन, धेरै दल विभाजित भएका छन् । कांग्रेसमा पनि टिकट नपाएकाले विभाजन छ । एमालेमा पनि विभाजन नै भयो । हाम्रोबाट पनि एक–दुईजना साथीहरुले म उठ्न पाए हुन्थ्यो भनेका थिए । कारणवश पार्टी र जनताको निर्णयले मैले उम्मेदवारी दिनुपर्यो । विभाजन भए पनि खुलेर साथ दिन्छु नभने पनि मतदान प्रक्रियामा राप्रपा नेपालका साथीहरुले पनि साथ दिन्छन् भन्ने आशा पनि गरेको छु । साथ दिनुहुन्छ भन्ने अपेक्षा पनि छ ।

हेटौँडाको मेयर हुनुभयो भने तपाईंको एजेण्डा के हुनेछन् ?

मैले भनिसकेँ यो चुनाव म जित्छु । १५ वर्षको एमालेको बिरासत म भत्काउँछु । जनताको चाहना पनि त्यही छ । मैले जितेको खण्डमा मेरो पहिलो एजेण्डा १ नम्बरमा हेटौँडा उपमहानगरपालिका भष्ट्राचारमुक्त नगरपालिका बनाउने हो । त्यसको साथै अहिले हेटौँडा अस्पताललाई रिफर सेन्टर बनाउन लागिएको छ । त्यसलाई म आमूल परिवर्तन गर्नेछु । जनतालाई भरतपुर, काठमाडौं, वीरगन्ज रिफर गर्ने बाहेकको काम हेटौँडा अस्पतालमा भएको छैन । म राम्रो डाक्टर, सर्जन विज्ञ ल्याएर, ल्याबहरु नम्बर वान बनाएर जनताको सेवा गर्ने अस्पताल बनाउँछु । उपमहानगरपालिकाको मात्रै होइन, मकवानपुरआसपासका जिल्लाका जनताले उपचारका लागि हेटौँडा आउने वातावरण बनाउनेछु । त्यो आँट र भिजन मसँग छ । ​

हेटौँडाको मेयरमा तपाईं​लाई नै मत दिनुपर्ने आधार के छन् ?

मलाई मत दिनुपर्ने आधार धेरै छन् । मैले मेयर भएर टन्न पैसा कमाउँला भनेर उम्मेदवारी दिएको होइन । निष्पक्ष ढंगले जनताको सेवामा समर्पित हुन्छु भनेर लागेको हुँ । तीनपटकसम्मको चुनावमा हार व्यहोरिसकेको म अबको स्थानीय तहको निर्वाचनमा जितेर हेटौँडा उपमहानगरपालिकालाई महानगरपालिका बनाउने भिजन लिएर उम्मेदवारी दिएको हुँ । म मेयर नहुँदा पनि समाजसेवामा लागेर थुप्रै राम्रा काम गरिरहेको छु । अबको दिनमा पनि गर्ने जिम्मेवारी लिनको लागि हेटौँडाको मेयरमा आउन चाहन्छु । यसै आधारमा मलाई हेटौँडेलीको मत आवश्यक छ । यसैलाई आधार मानेर मत दिनुहुन अनुरोधसमेत गर्न चाहन्छु ।

अहिले मेयर पदमा उम्मेदवारी दिइरहँदा हेटौँडाका नागरिकको साथ कस्तो छ ?

जनताको साथ नभएको भए म कहाँ मेयरमा उम्मेदवारी दिन्थेँ त । जनताको साथ, माया, हौसलाकै कारण त मेरो उम्मेदवारी हो । हेटौँडाको नागरिकको साथ मैले सोचेभन्दा पनि निकै पाइरहेको छु । घरदैलो कार्यक्रमदेखि मत माग्नसम्म पनि निकै साथ दिनुभएको छ । मैले मिडियाबाट पनि फुल सपोर्ट पाएको छु । मतदान प्रक्रियामा पनि साथ दिनुहुनेछ भन्ने विश्वास पनि छ ।

अन्त्यमा, तपाईंको केही सन्देश छन् कि ?

हेटौँडाका नागरिकलाई म एउटा सन्देश दिन चाहन्छु । यो नगरपालिका हामी सबैको हो । कुनै पार्टीको होइन । राप्रपाको पनि होइन । म मेयर भएको खण्डमा म सबैको सेवक भएर म काम गर्छु । त्यसका लागि सम्पूर्णलाई आफ्नो बहुमूल्य मत दिएर जिताउनुहुन आग्रह गर्दछु ।

प्रतिक्रिया
dipak-hetauda_UQkjrb9Y7y