आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न सक्दैनन् : महासचिव पोखरेल

पालिका डायरी
१४ बैशाख २०७९, ०८:५१
आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न सक्दैनन् : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने ठोकुवा गरेका छन् । नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भइसकेको भन्दै आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने बताएका हुन् ।

एमाले बलियो पार्टी भएकै कारण कांग्रेससहितका सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको उनको भनाइ छ । उनले आफ्नो भविष्य रक्षाका लागि गठबन्धन बनाएर अघि बढेपनि उनीहरुको स्वार्थ नमिलेको दृश्य स्थानीय तहको मनोनयनका क्रममा देखिएको धारणा राखे ।

पोखरेलले गठबन्धनको कुनै लक्ष्य, उदेश्य रहेको भन्दै मुलुकको नेतृत्व गर्न नसक्ने उल्लेख गरे । त्यस्तै उनले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी विधि र प्रक्रिया उल्लंघन गर्ने नेता माधव कुमार रहेको बताए ।

एमालेमा रहँदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले आफू पार्टीको अध्यक्ष र संसदीय दलको प्रमुख बनेर बसेको भन्दै उनले एक व्यक्ति, एक पदको नारा दिएर नेकपा फुटाइएको आरोप लगाए । उनले अबको सबै निर्वाचनमा एमाले विजयी हुने र एमालेको झण्डा फहराउने दाबी गरे ।

प्रतिक्रिया