काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दा भएकाे ओलीकाे दावी

पालिका डायरी
१३ बैशाख २०७९, १५:३३
हुलाकी सडकप्रति एमाले अध्यक्ष ओलीको चासो file photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा भएको दावी गर्नुभएको छ ।

आज (मंगलबार) ललितपुरको सानेपामा मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दामात्र भएको दावी गर्नुभएको छ ।

उहाँले नेपाली काँग्रेसको चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गालीगलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्ताबेज चोरेको आरोपसमेत लगाउनुभयो । अध्यक्ष ओलीले उहाँले २०६२/०६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको, र नेकपा एमालेको घोषणापत्र सारेको आरोप समेत लगाउनुभयो ।

उहाँले नेपाली काँग्रेससँग अहिले कुनै राजनीतिक एजेण्डा र देश विकासको योजना नभएको र काँग्रेसमा देश विकास, नीति, नियम, गिरिजाप्रसाद कोईराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको देहान्तसँगै सकिएको भान हुन थालेको बताउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली काँग्रेसले घोषणापत्र भन्ने शीर्षक छ बाहिर । बाहिर शीर्षक, भित्र गाली पुराण भन्ने अहिलेसम्म सुनेको थिएन, भित्र गाली पुराण छ । यो तथानाम एमालेलाई गाली, धारे हात लाएर, सरापेको छ । नेपाली काँग्रेसले, नेपाली काँग्रेसका कार्यकर्ताहरुले सरकार बनाउला भन्ने कत्रो सपना देखेका थियौँ, नेकपा एमलेका कारणले हाम्रा सपनाहरु ध्वस्त भए ।

हाम्रो सपना ध्वस्त पार्ने त्यस्तो अपराधी हो नेकपा एमाले भन्ने लेख्छ चुनाव घोषणापत्रमा । कुनै गन्तव्य हुँदैन । उत्ताउलो विकास । एमालेले हिमालका चुचुरामा चुच्चे रेल कुदाउने गफ गर्छ रे । हाम्रा खोला खोल्सीहरुमा ठूला पानी जहाज चलाउने गफ हान्छ रे घोषणापत्रमा लेखेको । के भएको नेपाली काँग्रेसलाई । एउटाले लेखेको भए पनि लेख भन्ने हुन्थ्यो । पार्टीको घोषणापत्र यति साह्रो बिसन्चो । सभ्यता, शिष्टता, मर्यादाको कुरा छैन ।

राष्ट्रपतिलाई शेरबहादुरलाई प्रधानमन्त्री बनाउन छोडेर केपी ओलीलाई किन प्रधानमन्त्री बनाएको भनेर घोषणापत्रमा लेख्छ । राष्ट्रपतिमाथि हमला गरेको छ । नेपाली काँग्रेसलाई सन्चो छ कि छैन ? एकपटक घोषणा गर्न भन्दा अघि सोध्न मन लागेको छ । राजनीतिक, संवैधानिक, कानूनि कुरा गर्नुप¥यो नि । अधिकांश घोषणापत्र त्यस्तै छ ।

अर्को पाटो संविधानका राम्रा कुराहरु ठाउँठाउँबाट निकालेको छ । संविधानबाट टिपदै राख्दै गरेको छ । अर्को पक्ष पनि छ । एमालेको घोषणापत्र नक्कल गरेर सारेको छ । चोर विद्यार्थीले चिट चारेझैँ अर्काको लेख्दा आँखा उता हात यता हुँदा छड्को अक्षर भएका छन् । त्यसमा एमालेमाथि तथानाम गाली, संविधानका केही कुराको उतार, अर्को एमालेको कपी । त्यही पनि कुशल विद्यार्थीको चिट चोराइ छैन । लद्दु विद्यार्थीको लद्दु चिट चोराइ छ ।

हेर्दा हेर्दै काँग्रेस के भएको ? काँग्रेसँग राजनीति छैन, सकियो । देश विकसको कुनै योजना र एजेण्डा छैन त्यो पनि सकियो । गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराई र गणेशमानजीहरुले आफू बित्दा काँग्रेसका नीति, विचार, सिद्धान्त सबै लिएर जानुभएछ । केही छैन अहिले काँग्रेससँग ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेण्डा नभएको आरोप लगाउनु भयो । उहाँले सुशासन वा साशन कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग कुनै योजना नभएको बताउनु भयो । अध्यक्ष ओलीले नेपाली काँग्रेस अहिले गठबन्धन नामको कुहिएको लौरोको भरमा रहेको बताउनुभयो । उहाँले गठबन्धन नामको कुहिएको लौरो आसन्न स्थानीय निर्वाचनबाट सकिने दावी समेत गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली काँग्रेसका सभापति, सम्माननीय प्रधानमन्त्रीलाई तपाईको देश बनाउने एजेण्डा के छ ? भनेर सोध्नुस् । लोकतन्त्रको सम्बन्धमा तपाईको एजेण्डा के छ भनेर सोध्नुस् । सुशासन वा शासन सञ्चालन कसरी गर्ने भनेर सोध्नुस् । उहाँको जवाफ तपाई बढ्ता बोल्दै हुनुहुन्छ, नेपाली काँग्रेससँग कुनै एजेण्डा छैन भन्ने थाहा हुँदा हुँदै सोध्ने भन्ने आउँछ, नपत्याए गएर सोध्नुहोस् ।

नेपाली काँग्रेसलाई होच्याउन खोज्ने भन्नुहुन्छ । उससँग जनताको बारेमा सोच छैन । उसले सत्ता बुझ्छ र फेरि पनि सत्ता टिकाइराख्न यो गठबन्धन नामको कुहिएको ढोडको लौरो आवश्यक छ भन्ने ठान्छ । यो कुहिएको ढोडको लौरो यही ३० गतेको चुनावमा खलास हुन्छ । त्यसपछि काँग्रेस हातको लौरो त छैन त्यस हालतमा हुन्छ ।’

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभई केन्द्र भएको दावी गर्नुभयो । चुनाव घोषणापत्र निकाल्न नसक्ने पार्टी नहुने उहाँको तर्क थियो । अध्यक्ष ओलीले चुनावी घोषणापत्र किन ननिकालेको भन्ने प्रश्न सोध्न पनि आग्रह गर्नुभयो । उहाँले माओवादीले के गर्छ, के गर्न खोज्दैछ भन्ने कुराहरु भन्न नमिल्ने र झुट बोल्ने बाँकी कुरा नभएकोले ननिकालेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपालमा अहिले माओवादी भन्ने पार्टी चुनावमा जाँदैछ । हुन त त्यो माओवादी पार्टी होइन, केन्द्र हो । यस्तो सेन्टरहरु विभिन्नले खोलेका छन् नि । यस्तै माओवादी एउटा सेन्टर हो । त्यसले चुनाव घोषणापत्र नै निकालेन । माओवादीको चुनाव घोषणापत्र छैन । काँग्रेसले निकालेकै छ भइगयो नि भन्नेछ ।

माओवादी अब पार्टी भयो त केन्द्र नभएर । सोध्नुस् न किन ननिकालेको, के गर्छ ? उसले भन्दा भन्नै मिल्दैन उसले गर्ने कुरा कसरी निकाल्नु घोषणापत्र ? माओवादीले के गर्छ, के गर्न खोज्दैछ भन्ने कुरा त्यो उसले भन्ने मिल्दैन । सधैँ झुटो लेख्न पनि त गाह्रो । हुन त माओवादीलाई उल्टा कुरा गर्न गाह्रो त छैन । अफ्ठ्यारो त लाग्दैन तर । यसपल्ट गाह्रै परेछ । उसले चुनाव घोषणापत्र निकालेन ।’

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई फाटोवादी, चोइटोवादी भएको आरोप लगाउनुभयो । उहाँले हतारमा घोषणापत्र निकालेको समाजवादीको घोषणापत्रमा केही तुक नरहेको दावी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘फाटोवादी, चोइटोवादीले आफूलाई एकीकृत नाम राखेको छ र प्रतिक्रियावादीको पुच्छर भएको, प्रतिगामी शक्तिले आफूलाई समाजवादी भन्ने नाम राखेको छ । त्यसले हतारिएर घोषणापत्र निकाल्यो । त्यो घोषणापत्रमा केही पनि छैन । अध्यक्ष ओलीले अहिलेको गठबन्धन अपराधका लागि बनेको अपराधी गठबन्धन भएकोले चुनाव सार्ने गाड्यन्त्र भइरहेको बताउनुभएकाे छ । तर नेकपा एमालेले चुनाव सार्न नदिने उहाँले स्पष्ट पार्नुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यहि वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उत्तेजक नबनीकन अगाडि बढ्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभएकाे छ ।

प्रतिक्रिया