बझाङका दुई पालिकामा श्रीमान् श्रीमती नै अध्यक्ष र उपाध्यक्षका आकांक्षी

पालिका डायरी
८ बैशाख २०७९, २१:२३
बझाङका दुई पालिकामा श्रीमान् श्रीमती नै अध्यक्ष र उपाध्यक्षका आकांक्षी

नेकपा एमाले बझाङले हालसम्म पालिका प्रमुख र उप प्रमुखको टुंगो लगाउन सकेको छैन । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा आकांक्षी बढी भएपछि एमालेलाई उम्मेदवारको टुंगो लगाउन सकस भएको छ ।

एमालेले साइपाल गाउँ​पालिकाबाहेक अन्य पालिकामा अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन । नेकपा एमालेबाट दुई गाँउपालिकामा श्रीमान् श्रीमतीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बन्न आकांक्षा देखाएका छन् । वित्थडचिर गाँउपालिका र सुर्मा गाँउपालिकामा श्रीमान् श्रीमतीले पालिकाको अध्यक्ष उपाध्यक्षमा आकांक्षा राखेपछि गाउँ कमिटीले उम्मेदवार छनोटका लागि सिफारिस गरेर प्रदेश कमिटीमा पठाएको छ ।

एमालेबाट सुर्मा गाउँपालिकामा शेरबहादुर बोहरा, कलक बोहरा, दिलीप बोहरा, गोरखबोहरा र चक्र बोहरा गरी ५ जनाको नाम सिफारिस भएको छ । यस्तै, उपाध्यक्षमा मातादेवी बोहरा, सन्चु जप्रेल जेठारा, टीकादेवी जेठारा, अञ्जना बोहरा र समीतादेवी बोहराको नाम सिफारिस गरिएको नेकपा एमाले सुर्मा गाउँ कमिटीका अध्यक्ष कैलाश बोहराले जानकारी दिए ।

यस्तै, वित्थडचिरमा वर्तमान अध्यक्ष प्रेमबहादुर बोहरा, लोकेन्द्र बोहरा, कलकबहादुर विष्ट, हर्क बोहरा र हर्क धामी सिफारिस भएका थिए । उपाध्यक्षमा वर्तमान उपाध्यक्ष जानकी बोहरा, जयन्ती भण्डारी र राजेश्वरी ऐर विष्ट सिफारिस भएका थिए ।

नेकपा एमालेबाट सिफारिस भएका वित्थडचिर गाउँपालिका–९ का वडाध्यक्षसमेत रहेका कलकबहादुर विष्ट र राजेश्वरी श्रीमान् श्रीमती हुन् । दुवैजना आकांक्षीलाई वित्थडचिर गाउँ कमिटीले सिफारिस गरी प्रदेशमा पठाएको छ । यस्तै, सुर्मा गाउँपालिकामा चक्र बोहरा र मातादेवी बोहरा पनि श्रीमान् श्रीमती हुन् ।

दुवैजनालाई सुर्मा गाउँ कमिटीले छनोटका लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ । मातादेवी बोहरा ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी समीता पुजारासँग उपाध्यक्षमा पराजित भएकी थिइन् ।

प्रतिक्रिया