नेपाली उत्पादन चीन निर्यात गर्न सघाउँछु : राजदूत यान्छी

पालिका डायरी
८ बैशाख २०७९, २१:०३
नेपाली उत्पादन चीन निर्यात गर्न सघाउँछु : राजदूत यान्छी

काठमाण्डौ /  नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली उत्पादनलाई चीन निर्यातमा सघाउने आश्वासन दिनुभएको छ ।

श्रव्यदृश्यका माध्यमबाट आज बिहीवार पत्रकार सम्मेलन गर्दै राजदूत यान्छीले नेपाली पक्षले भूमि बन्दरगाहबाट चीनतर्फ निर्यात फेरि सुरु गर्ने चाहनालाई चिनियाँ पक्षले निकै महत्त्व दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस सम्बन्धमा दुवै पक्षका सम्बन्धित निकाय, छिमेकी प्रदेश र सीमा बन्दरगाहका अधिकारीले सञ्चार र समन्वय गरिरहेका छन् । दुवै पक्षले कुटनीतिक माध्यमबाट उपयुक्त समयमा सीमासम्बन्धी मामिलाहरूमा परामर्श गर्न, सीमासम्बन्धी मामिला र हाम्रा दुई देशबीचको सहकार्यलाई व्यवस्थित बनाउन समन्वय गरिरहेका छन् ।’

कोभिड–१९ महामारीबाट मुक्त भइ नेपालको अर्थतन्त्र र समाज सामान्य अवस्थामा फर्किएपछि चीन र नेपालबीचको सहकार्यले गति लिने विश्वास व्यक्त गर्दै राजदूत यान्छीले नेपाली पक्षले निष्पक्ष र पारदर्शी व्यापारिक वातावरण प्रदान गर्न, चिनियाँ उद्यमहरूको वैधानिक हक र हितको पूर्ण संरक्षण गर्न तथा उनीहरूका व्यावहारिक समस्याहरू समाधान गर्न मद्दत गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।

नेपाल र चीनबीचको सिधा उडान फेरि सञ्चालन हुने र नेपाली विद्यार्थीलाई चीन फर्काउने विषयमा उहाँले भन्नुभयो, ‘महामारीको सामना गर्दा विद्यार्थीका लागि विद्यालयमा फर्किनु अन्तर्राष्ट्रिय रूपमा सामान्य समस्या हो । यसअघि महामारीको रोकथाम र नियन्त्रणका लागि नेपाली पक्षले धेरैजसो देशसँगको अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने घोषणा गरेपछि नेपाल–चीनबीचको सिधा उडान अहिलेसम्म बन्द छ ।’

बेल्ट एन्ड रोड इनिशिएटिभ (बीआरआई) कहिल्यै भूराजनीतिक रणनीति नभएको स्पष्ट गर्दै राजदूत यान्छीले नेपालजस्ता विकासशील देशहरूलाई दिगो विकासको लक्ष्य हासिल तथा साझा समृद्धि प्रवर्द्धनमा सघाउने परियोजना भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया