पाेखराकाे मेयरमा एमालेबाट १२ जनाकाे नाम सिफारिस

पालिका डायरी
२ बैशाख २०७९, १६:४९

पाेखरा महानगरपालिकाकाे मेयर र उपमेयर पदका उम्मेदवार छान्नका लागि नेकपा एमालेले आकाङ्क्षी सबैकाे नाम सिफारिस गरेकाे छ । एमाले पोखरा नगर कमिटीले मेयरका आकाङ्क्षी १२ जना र उपमेयरका आकाङ्क्षी ९ जनाकाे नाम केन्द्रमा सिफारिस गरेकाे हाे ।

यसअघि केन्द्रीय कमिटीले एक पदमा बढीमा तीन जनाको नाम मात्रै सिफारिस गर्न निर्देशन दिएपछि सर्वसम्मतको प्रयास भए पनि सफल नभएपछि सबैको नाम सिफारिस गरिएकाे पोखरा नगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिनुभयाे ।

यसअघि तीन दिनसम्म निरन्तर बैठक बसेर पनि सर्वसम्मत हुन नसकेपछि आज शुक्रवार मतदानबाट उम्मेदवारकाे नाम टुङ्ग्याउन लागिएको थियो । तर महानगर कमिटीले सबैको सहमति भन्दै मतदानलाई छाेडेर सङ्कलन भएका सबैकाे नाम जिल्लामा पठाउने निर्णय गरेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयाे ।

एमालेबाट पाेखराकाे मेयरमा प्रदेश सांसदहरू कृष्णबहादुर थापा र राजीव पहारी, नेताहरू रश्मी आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, सावित्री भण्डारी, विश्वकल्याण पराजुली, दर्शन लामा, दीपकबहादुर पौडेल, बालासिंह काउछा मगर र पुष्पराज अधिकारी आकाङ्क्षी छन् । उपमेयरमा टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, विनाकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी शोभामोहन पौडेल र वामदेव ढुंगानाले नाम दिएका थिए । उपमेयरमा यसअघि आकाङ्क्षी देखिएका बैनबहादुर अधिकारी क्षेत्री र हरिकला गुरुङले भने आज मनोनयन नै दिएनन् ।

प्रतिक्रिया